सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित पातीघारीमा चितुवाको आक्रमणबाट आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा ४९ वर्षीया दिलमाया गुरुङ र नौ वर्षीय शङ्कर गुरुङ रहेको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेला आज चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । निर्माणाधीन झ्याल ढोका नभएको घरमा सुतेका बेला चितुवा छिरेको थियो । सुरुमा छोरालाई आक्रमण गरेको र चितुवालाई लखेट्ने क्रममा आमा पनि घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । चितुवाको आक्रमणबाट बालकको टाउकोमा र आमाको हातमा चोट लागेको थियो । घाइते दुवै दमौली अस्पतालमा उपचार पश्चात् घर फर्किएको अस्पतालले जनाएको छ । जिल्लामा केही समययता चितुवाको आक्रमण बढ्दो छ । बस्ती छेउमै आएर चितुवाले बालबालिकालाई आक्रमण गर्नेगरेको छ । जिल्लाको भानु, बन्दिपुर, आँबुखैरेनीमा बढी चितुवाको आतङ्क छ । गत बुधबार मात्रै बन्दिपुर गाउँपालिका–१ मा चितुवाको आक्रमणबाट तीन वर्षीय बालक घाइते भएका थिए । उनको चितवनमा उपचार भइरहेको छ । ती बालकको सफल शल्यक्रिया गरिएको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन र एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्न वन कार्यालयले अनुरोध गरेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
शुक्लाफाँटामा जङ्गली हात्तिको आक्रमणबाट मृत्यु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जङ्गली हात्तिको आक्रमणबाट शुक्लाफाटा नपा–७ सिमलफाँटाका २२ वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ । हात्तिको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगी सकेका छन् ।
निकुञ्ज पीडितका समस्या समाधान गर्न छलफल
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितका समस्या समाधानका लागि गठित विस्थापितलाई मुआब्जा सिफारिस कार्यदलले सरोकारवाला निकायसँग छलफल गरेको छ । कार्यदलले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राजनितिक दलका प्रतिनिधि, राष्ट्रिय निकुञ्ज वन कार्यालय र मध्यवर्ती उपभोक्ता समितिसँग आज छलफल गरेको हो । छलफलमा उपस्थित प्रतिनिधिले पीडितको समस्या समाधानका लागि कार्यदलले पहल गर्नुपर्नेमा जोड दिएका छन् । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट वास्तविक विस्थापितका नाममा नक्कली विस्थापित थपिएकाले समस्या समाधान हुन नसकेको बताए । “यहाँ घर जग्गा भएकाले निकुञ्जबाट विस्थापितको लिष्टमा छन्”, उनले भने, “हरेक वर्ष पीडित थपिँदै गएकाले यो समस्या समाधान हुन सकेको छैन ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज(तत्कालीन आरक्ष) को क्षेत्र विस्तारित हुँदै जाँदा आरक्षको चार किल्लाभित्र घर जग्गा पर्न गई विस्थापित जग्गाधनीमध्ये एक हजार चार सय ८० घरधुरी जग्गा सट्टाभर्ना तथा मुआब्जा पाउन छुटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितका समस्या समाधानका लागि गठित विस्थापितलाई मुआब्जा सिफारिस कार्यदलका अध्यक्ष दलबहादुर बोहराले बताए । उनका अनुसार पुनरावेदन अदालतका पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्मा अध्यक्ष रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी जाँजबुझ आयोग २०७१ ले पहिचान गररेका एक हजार चार सय ८० घरधुरीको हालको अवस्था बसोबासको स्थिति हेरेर कार्यदलले काम गर्ने बताए । “कार्यदलले एक चरण सबैसँग छलफल गरिसकेको छ अब विस्थापितको शिविरमा स्थलगत अवलोकन गर्ने तयारीमा छौँ”, उनले भने, “वास्तविक पीडितको समस्या समाधान हुने गरी हामी काम गर्छौँ ।” उनले विस्थापितको समस्या समाधान हुने गरी काम गरिरहेको बताए ।–रासस