च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान      

सोमबार, भदौ १३, २०७९

चौतारा, ।  यस  क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका  छन् । यसबाट उनीहरुको जीवनयापन  सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका  छन्  । यसबाट मनग्य आम्दानी गर्न उनी  सफल भएका छन्  । वार्षिक एक लाखमा जग्गा भाडामा लिएर च्याउ खेती गरेका  राउतले सात जनालाई रोजगारी दिएका  छन्  ।  उत्पादनका हिसाबले जिल्लाकै ठूलो फार्म भएकोले हेर्न आउनेलाई राउतले फार्ममै च्याउको ‘रोष्ट’ बनाएर चखाउछन्  । झण्डै २० लाख लगानी गरेको च्याउ व्यवसायबाट सबै खर्च कटाएर वार्षिक सात लाख नाफा हुने गरेको राउतले  बताए  ।  

राउतका अनुसार च्याउ उत्पादनको ४० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । बाँकी ६० प्रतिशत काठमाडौँमा पुग्छ । च्याउको स्थानीय मूल्य एक सय ५० देखि दुई सयसम्म छ । बाह्रबिसे, खाडीचौरलगायत स्थानीय बजारका व्यापारी च्याउ लिन फार्ममै आउँछन् ।  त्यस्तै, तीन वर्षदेखि च्याउ खेती गरेका  चौतारा साँगाचोक नगरपालिका–१० जल्किनेका सीता थापाको आफ्नै घर नजिकै प्लास्टिक टनेलमा राखिएको काठको मुढामा खैरो रङ्गको सिताके च्याउ ढपक्कै फलेका छन् । लगभग रु सात लाख लगानीमा तीनसय मुढाबाट व्यवसाय थालेका  उनको अहिले एक हजार ५०० मुढा पुगेको छ । मुढामा बीउ राखेको नौ महिनापछि मात्रै उत्पादन हुने गरेकोले तीन सय मुढाबाट मात्रै उत्पादन भएको उनी  बताउछन्  । 

 उनकोमा महिनामा सय केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको ६ महिनासम्म मुढालाई थुपारेर राखेपछि फल्न सुरु हुन्छ । तर ठूलो खालको सिताके च्याउ उत्पादन हुन नौ महिनासम्म लाग्छ ।     प्रति केजी पाँच सय देखि आठ सयसम्म बिक्री हुने गरेको उक्त च्याउबाट गतसाल साँढे दुई लाख आम्दानी भएको उनले बताए  । यसवर्ष थपिएका मुढाबाट च्याउ उत्पादन भएपछि कम्तिमा दुईलाख देखि चार लाखसम्म आम्दानी हुने उनको आशा छ । जुनसुकै रोगीलाई उपयोगी हुने तथा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएको स्वास्थ्यबर्दक सिताके च्याउ खरिद गर्न स्थानीय व्यापारी घरसम्म आउने गरेका छन् ।  

उनका अनुसार यो च्याउ विशेष गरेर उत्तिसको र कटुसको मुढामा हुन्छ । उत्तिस भन्दा कटुसको मुढामा यो फस्टाउछ । तर मुढाको अभाव भएकोे उनले बताए  । आफ्नै लगानीबाट सुरु गर्नुभएको सो खेतीमा उनलाई बागमती प्रदेश सरकारले नमूना कृषि फार्म स्थापना कार्यक्रम अन्तर्गत १५ लाख दिएको छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा सीता श्रेष्ठले तीन वर्षदेखि गरेको सिताके च्याउबाट अहिले राम्रो आम्दानी गरेको बताउछन्  । श्रेष्ठले च्याउ खेतीबाट वार्षिक दुई लाख कमाउछन्  । चौतारा साँगाचोकगढी नगरपालिका ४ मा उत्पादित सिताके च्याउले भने बजार नपाउँदा स्थानीय किसान चिन्तित बनेका छन् । विसं २०७५ मा वसन्त कृषि तथा पशुपालन फार्म सञ्चालनमा ल्याएका  व्यवसायी भीमसेन खड्काका अनुसार स्थानीयस्तरमा उत्पादन गरिएको च्याउले स्थानीय हाटबजारमा राम्रो भाउ नपाएकाले काठमाडाँैको विभिन्न होटलसम्म पु¥याउनुपर्ने झन्झट व्यहोर्नु परेको छ ।  


 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार