सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिसीएमसीको सिफारिस

आइतबार, वैशाख ५, २०७८

काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।  बैठकमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेका सहरहरुको बारेमा समीक्षा भएको थियो । 
बैठकले वैशाख मसान्तसम्म भच्र्यअल अध्ययन अध्यायपन गराउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आइतबार वा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । यस्तै, बैठकले पार्टी, सभा, समारोह तथा गोष्ठी र भेलालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । सवारी साधान, कार्यालय, सार्वजनिक स्थानहरुमा कडा रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गराउन पनि सरकारलाई सिफारिस गरेको छ ।
विद्यालय बन्द हुने–नहुनेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।  स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको थियो । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । सिसीएमसी बैठकले स्वास्थ्य मन्त्रालयको कोरोनाको नयाँ प्रजाति रोकथाम, नियन्त्रण र उपचार गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरेको थियो । कोभिड–१९ को नयाँ प्रजातिको सङ्क्रमण अलि भिन्न र छिटो फैलन सक्ने भएकाले रोकथामलाई कसरी व्यवस्थित र चुस्त तुल्याउने भन्ने सन्दर्भमा मन्त्रालयको प्रस्तावमाथि विभिन्न कोणबाट छलफल गरी राय, सुझाव दिएको सचिव खगराज बरालले जानकारी दिए । उनले भने, ‘अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पालनालाई बढी प्रभावकारी तुल्याउन आवश्यक छ, रोकथाम र नियन्त्रणका लागि जनचेतना जागरणका कार्यक्रमलाई थप प्रभावकारी तुल्याउनुपर्छ भन्नेमा सबैको जोड छ ।’  बैठकमा कोरोना रोकथामका लागि टोल, समुदाय, स्थानीय तह र प्रदेशलाई आ–आफ्ना कार्यक्षेत्रभित्र जनचेतना जागरणका कार्यक्रम सञ्चालन गर्न सुझाव दिन उचित हुने रायसमेत प्रस्तुत गरिएको थियो ।  विद्यालयको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा विगतको जस्तो समग्र एकैखाले नभई कोरोनाको सङ्क्रमण जोखिम बढी देखिएका स्थानमा तत्कालका लागि शिक्षा मन्त्रालयबाट जारी भएको अनलाइनलगायतका वैकल्पिक सिकाइका ढाँचा र विधिमार्फत पठनपाठनको व्यवस्था गर्न उचित हुनसक्छ भन्ने पाटोबाट गम्भीर छलफल भएको सचिव बरालले जानकारी दिए ।  उनले भने, ‘तर यो विषयमा निर्णय हुन भने बाँकी नै छ, मन्त्रिपरिषद्बाट निर्णय भई आदेश जारी भइसकेपछि मात्र विद्यालय सञ्चालन र सिकाइका वैकल्पिक ढाँचा लागू हुनेछ ।’ 
कोरोना नियन्त्रण, रोकथाम, उपचार र यससँग सम्बन्धित कार्यका लागि निर्णय गर्ने अधिकार स्थानीय तह र स्थानीय प्रशासनसमेतलाई दिनुपर्छ भन्नेमा बैठक मतैक्यता रहेको तथा प्रवेश विन्दुमा नै सङ्क्रमण रोकथामका कदमलाई प्रभावकारी तुल्याउनुपर्छ भन्ने तर्क पनि गरिएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका मन्त्री र सचिव तथा विज्ञ सहभागी थिए । 
दार्चुला । महाकाली नगरपालिका–९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो । सदरमुकाम खलङ्गामा बस्दै आउनुभएका ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा गइन् । महिलाको शल्यक्रिया गर्नुपर्ने देखियो तर जिल्ला अस्पताल दार्चुलामा एक जना पनि चिकित्सक थिएनन् ।
चार चिकित्सकको दरबन्दी रहेको अस्पतालमा चिकित्सक नहुँदा व्यथा लागेका महिलालाई गोकुलेश्वर सिफारिस गरिएको हो । उनलाई महाकाली नगरपालिकाको एम्बुलेन्समार्फत गोकुलेश्वर अस्पताल पु¥याइएको थियो । यो त एक प्रतिनिधि घटना मात्रै हो । उनीजस्तै दर्जनौँ गर्भवतीले अहिले जिल्ला अस्पताल पुगेर गोकुलेश्वर वा पिथौरागढ सिफारिस हुनुपर्ने बाध्यता छ । अस्पतालमा बच्चा पाउन आउने गर्भवतीको जिल्लामै सुत्केरी हुन नसक्दा बिचल्ली भएको छ ।  सहजरूपमा जिल्लामै हुने शल्यक्रियाका लागि गोकुलेश्वर जाँदा रु छ हजार तिर्नुपरेको आफन्तजन बताउँछन् ।
गर्भवतीका लागि भन्दै चौबीसै घण्टे आकस्मिक प्रसूति सेवा केन्द्र राखिएको तर जिल्ला अस्पतालको आकस्मिक प्रसूति केन्द्र तीन सातादेखि बन्द छ । जिल्लाको मुख्य अस्पतालको स्वास्थ्य सेवा लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने उदासिन बनेको बिरामी बताउँछन् । जिल्ला अस्पताल दार्चुलामा आकस्मिक सेवा हेर्दै आएका मेडिकल अधिकृत नवीनकिशोर मल्ल धनगढी र अस्पताल निमित्त प्रमुख एवं एमडिजीपि डा आर्दश लिम्बू काठमाडौँ तालिममा गएपछि आकस्मिक सेवा बन्द भएको छ । शल्यक्रिया गर्नका लागि चिकित्सक चाहिन्छन् प्रसूति सेवा कार्यरत एक स्टाफ नर्सले भनिन्, ‘हामीले त्यो गर्न सक्दैनाै‌ ।’ चिकित्सक नहुँदा चैत दोस्रो सातादेखि अस्पतालमा शल्यक्रिया हुनसकेको छैन । अस्पतालमा आउने गर्भवतीलाई गोकुलेश्वर पठाउने गरिएको उनको भनाइ छ । शुक्रबार मात्र दुई सुत्केरी व्यथा लागेर आएका महिलालाई पठायौँ । अस्पताल हो तर सबै चिकित्सक एकैपटक तालिममा जाँदा अस्पतालको स्वास्थ्य सेवा नाजुक बनेको उनको भनाइ छ ।
जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्ट चिकित्सकहरूको तालिम परेका कारण जिल्ला बाहिर जानुपरेको बताउँछन् । यस बीचमा बिरामी हेर्न गोकुलेश्वरबाट चिकित्सक मियाज अन्सारी एक साता जिल्ला अस्पतालमा काम गरेर फर्किएका छन् । शुक्रबार र शनिबार अस्पतालमा चिकित्सक नै छैनन् । प्रदेश सरकारमार्फत खटाइएका डा देवेन्द्र नेगी शनिबार बेलुकीसम्म आइपुग्ने अस्पतालले जनाएको छ । ‘बिरामीको चाप बढी नै छ’, उनले भने, ‘हामीले सक्दो सेवा दिएका छौँ ।’  अहिले अस्प्तालमा दैनिक ८० बढी बिरामी आउने गरेका छन् । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण रुघाखोकीका बिरामी बढी आउने गरेका छन् । एक जनामात्रै चिकित्सक हुँदा बिरामीले अस्पतालमा घण्टौँ कुर्नपर्ने बाध्यता छ । पछिल्लो समय अस्पतालमा दक्ष जनशक्तिसमेत छैन । दक्ष जनशक्ति नहुँदा गत मङ्सिरमा जडान गरिएको आइसीयू र भेन्टिलेटर शय्या प्रयोगमा आएको छैन ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार