ब्याजसहित सबैको बचत फिर्ता गर्ने देउराली सहकारीको प्रतिवद्धता

५ लाख भन्दा बढी बचत भएकालाई २ वर्षभित्र रकम फिर्ता गर्ने योजना 
मंगलबार, भदौ ७, २०७९

काठमाडौँ । केही समयदेखि तरलताको संकट खेपिरहेको ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको सबै बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ ।  देउरालीका अध्यक्ष रविन्द्र चौलागाईंले विज्ञप्ति जारी गर्दै चौलागाईंले सबै बचत फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 
ललितपुरमा आयोजित संस्थाका सदस्यहरुको भेलामा अध्यक्ष चौलागाईंले कसैले पनि आत्तिनु नपर्ने र सबैको निक्षेप ब्याजसहित फिर्ता हुने बताए । त्यसका लागि धैर्य गर्न उनले सबैलाई आग्रह गरे ।
उनले सार्वजनिक गरेको निक्षेप फिर्ताको योजनामा दुई चरणमा दुई विकल्प दिएर ब्याजसहित साँवा फिर्ता गर्ने उल्लेख छ ।  उनले देउराली बहुउद्देश्यीय सहकारी संस्था डुब्नेगरी कुनै काम नभएको दाबी पनि गरेका छन् । विगत केही महिनायता संस्थामा तरलताको समस्या आएको भएपनि त्यसको विस्तारै हल हुँदै जाने उनले स्पष्ट पारे । 
५ लाख रुपैयाँसम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाखभन्दा माथिका लागि ठूलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना रहेको उनले सुनाए । 
संस्थाको रकम दुरुपयोग नभएको जिकिर गर्दै उनले लगानी गरेका ठाउँहरुबाट रकम नउठेका कारण समस्या देखिएको बताए । उनले भने ‘पहिले ५ लाखसम्मका साना बचतकर्तालाई तत्कालै संस्थाको ३ वटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जानेछौं । ५ लाख भन्दा बढी बचत रकम भएकाहरुलाई २ वर्षभित्र सम्पूर्ण रकम फिर्ता गरिनेछ ।’  ५ लाखभन्दा बढी रकम भएका निक्षेपकर्तालाई बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरी सुरक्षण गर्ने योजना उनले सुनाए ।
अध्यक्ष चौलागाईंले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नम्बर ६ मेघौलीमा रहेको ५७ विघा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरेका छन् । मेघौली लगायत अरु विभिन्न ठाउँमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठूला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ । बचतकर्ताहरुले रकमको सट्टा प्लट नै लिन पनि पाउने संस्थाले जनाएको छ । त्यसैगरी संस्थाले दुई महिनायता तरलता समस्याका कारण टोकन सिस्टममा चलाइएका सबै काउन्टर सामान्य रुपमा खोल्ने भएको छ । ५ लाखसम्म बचत रहेका साना बचतकर्ताको रकम अविलम्ब फिर्ता गर्दै जाने बताएको छ ।
करिब २० हजार सदस्यहरु रहेको देउराली बहुउद्देश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । संस्थाले प्रवाह गरेको कर्जा समयमा नै नउठेको र कोभिड लगायत आर्थिक मन्दीका कारण समस्या आएको अध्यक्ष चौलागाईंले बताए । कोरोना महामारीको असर, अर्थ जगतमा निरन्तरको तरलता समस्या र आर्थिक मन्दीको प्रभावस्वरुप देउराली बहुउद्देश्यीय सहकारीमा केही समस्या आएको सहकारीले बताएको छ । तर, सहकारीमा देखिएका समस्या भने हल हुने दिशामा रहेको उनले बताए । बजारमा देउराली सहकारी समस्यामा पर्‍यो, डुब्न लाग्यो भन्ने खालका हल्ला फिजाइएपछि अध्यक्ष चौलागाईले निक्षेपकर्ताहरुलाई डाकेर पत्रकार सम्मेलन गरेका हुन् । 
अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली भने डुब्ने नै गरी कुनै समस्या नभएको  दाबी गरे । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरी ३ वटा काउन्टर छन् ।


 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार