सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाललाई भिन्न क्षमता भएका व्यक्तिहरुका लागिसमेत सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा नयाँ र फरक ढङ्गले प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘नेपाललाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले फरक–फरक ढङ्गले प्रस्तुत गर्न सक्नुपर्छ। विदेशी पर्यटकहरूको उपलब्धि एक्स्ट्राअर्डिनरी हुँदा त्यसलाई समाचारको विषय मात्र नभएर ठूलो जनसङ्ख्यालाई प्रेरित गर्ने सन्दर्भका रूपमा लिनुपर्छ ।’ कार्यक्रममा उनले इजरायलका ७१ वर्षीय पूर्ण दृष्टिविहीन पर्यटकले गत वर्ष अन्नपूर्ण सर्किट र हालै अन्नपूर्ण बेस क्याम्प (एबिसी) सफलतापूर्वक पदयात्रा गरेको उदाहरण दिए । यस्ता साहसिक यात्राले स्वदेश तथा विदेशमा रहेका दृष्टिविहीन तथा फरक क्षमता भएका ठूलो जनसङ्ख्यालाई घरबाट बाहिर निस्कन प्रेरित गर्ने उनको भनाइ थियो । यसबारे प्रष्ट पार्दै थपलियाले भने, ‘१०० प्रतिशत दृष्टिविहीन पर्यटकले अन्नपूर्ण सर्किट र बेस क्याम्प पूरा गर्नु समुदायका लागि ठूलो उपलब्धि र प्रेरणादायी कथा हो। यसबाट नेपालको पर्यटन ‘सबैका लागि र सधैँका लागि’ हो भन्ने सन्देश विश्वभर प्रवाह गर्न खोजिएको हो ।’ पहुँचयोग्य पदमार्ग निर्माणमा प्राविधिक पक्ष र पूर्वाधार खर्चिलो हुने भए पनि सहयोगीहरूको सहायतामा यस्ता पदयात्राहरू सम्भव भइरहेको उनले स्पष्ट पारे । पूर्वाधार र अवसरबारे चर्चा गर्दै उनले थपे, ‘एउटा इन्टायर डेस्टिनेसनभरि पूर्वाधार बनाउन ठूलो खर्च लाग्छ, तर सहयोगी लिएर हिँड्न सकिने ट्रेलहरू पनि छन्। पहुँचयोग्य पर्यटनलाई केवल सामाजिक दृष्टिकोणले मात्र नहेरी ठूलो आर्थिक र व्यावसायिक अवसरका रूपमा पनि विकास गर्न सकिन्छ ।’ उनले डिजिटल तथा सामाजिक सञ्जालको अधिकतम उपयोग गरी नेपाल सबै वर्ग, उमेर र शारीरिक अवस्थाका मानिसका लागि उपयुक्त गन्तव्य हो भन्ने यथार्थ अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्ने धारणा राखे ।