निर्वाचनलगत्तै माओवादी र समाजवादीबीच एकता : झलनाथ खनाल

सोमबार, भदौ ६, २०७९

रामपुर (पाल्पा) ।  नेपाल  कम्युनिष्ट (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । जिल्ला पार्टीले आज तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मङ्सिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने जानकारी दिए ।
नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको नेता खनालले स्पष्ट पारे । नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उनको भनाइ छ ।
मङ्सिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँडका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै पूर्वप्रधानमन्त्री खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए । कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको स्मरण गर्दै उनले जनभावनाअनुसार काम नहुँदा अहिले कम्युनिष्टभित्रै फरक खालको राजनीतिक परिस्थिति सिर्जना भएको बताए ।–रासस

 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार