स्व गिरी, साहित्य र समाजवाद

आइतबार, भदौ ५, २०७९

काठमाडौँ । दार्शनिक लेखक एवं विश्लेषक  प्रदीप गिरीको निधनले मुलुकलाई बौद्धिक क्षति पुगेको छ । घाँटीको क्यान्सरबाट पीडित कांग्रेस नेता गिरीको शनिबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

“रचनामा मीठास भर्न खप्पिस झर्रोसाहित्यकार गिरी सालिन व्यक्तित्वका धनी थिए, सादा जीवन र उच्च विचारका रुपमा कहलिएका स्व गिरीको असमाहिक निधनले जुझारु पाठकलाई खल्लो बनाएको छ”, साहित्यकार ध्रवचन्द्र गौतमले भने । 

साहित्यकार गौतम स्व गिरीका सहपाठी थिए । गिरीलाई उनले एक असल मित्र, राजनीतिक चिन्तक, ठूला पाठक, बौद्धिक लेखक र निष्ठाका धनी, सादगी व्यक्तित्व रहेको बताए । जनमत साहित्यक मासिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक मोहन दुवालले राजनीति विद्धानको सूचीमा स्व गिरी अग्रपङ्क्तिमा रहेको जानकारी दिए ।

स्व गिरीले जनमत साहित्यक मासिक पत्रिकामार्फत साहित्यमा आफ्नो धारणा राख्दै, “कविता वा कलालाई पढ्न र बुझ्न खोज्नुभनेको आफूलाई खोतल्नु हो”, भनेको छ । साहित्यकार निलम कार्की ‘निहारीका’को कविता सङ्ग्रहको भूमिकामा उनले “साहित्य अनुशिलन मेरा निम्ति आफ्नै जीवनको एउटा अङ्ग हो”, भनी उल्लेख गरेको छ । 

उनले शारदा मासिक पत्रिकालगायतका दर्जनौँ साहित्यक पत्रिकामा आफ्ना साहित्यक लेख रचना प्रकाशन गरेको साहित्यकारले बताएको छ । वरिष्ठ पत्रकार एवं लेखक जगत नेपालले स्व गिरी राममनोहर लोहिया र गान्धीबाट प्रभावित रसिक, सालिन व्यक्तित्व, सत्यका पक्षमा  अडिक र निडर लेखक रहेको बताए । 

लेखक नेपालले गिरीको निधनले मुलुकले एक असल नेता, स्थापित लेखक  र कहलिएको  साहित्यकार गुमाएको बताउँदै उनको निधनपछि बीपी र बीपीको प्रजातान्त्रिक समाजवादप्रतिको धारणा राख्ने पछिल्लो पुस्तासमेतको अवसान भएको चर्चा गरेका छन् । साहित्यकार विनोद दीक्षितका अनुसार स्व गिरी विशिष्ट राजनीतिक चिन्तन भएका पठनीय र सङ्ग्रहनीय साहित्य सिर्जना गर्नसक्ने उच्चकोटीका राजनीति विशलेषक तथा लेखक रहेको जानकारी दिए ।

साहित्यकार रोचक घिमिरेका नजरमा स्व गिरी नवीन खोज तथा अनुसन्धानमूलक लेख रचना पढ्न तथा रचना गर्न  रुचाउने निर्भिक व्यक्ति थिए । स्व गिरीले २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका प्रकाशन गरेबाट पनि उनको साहित्यमा गहिरो अभिरुचि रहेको पुष्टि हुन्छ ।

पिता मित्रलाल गिरीको प्रेरणाले  राजनीतिमा संलग्न  प्रदीप गिरीका धेरै लेख रचना पढ्दै आएका पाठक वासुदेव ढुङ्गानाका अनुसार उनका राजनीति लेखमा सीमान्तकृत र पिछडिएका जनताको मर्मस्पर्शी चोटलाई साहित्यक रुपमा चित्रण गरिएको पाइन्छ ।

उनका थुप्रै लेख रचना दर्जनौँभन्दा बढी पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । विशेष गरी उनले ‘विश्वेश्वरप्रसाद कोइराला, ‘राजनीति अभिलेख’, ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ ‘दौपदी देश’, ‘नेपाली कांग्रेस माओवादी र मधेश (२०६६)’ ‘डा राममोहन लोहिया’, ‘लेनिनको जीवनी’ ‘नारी’ ‘माक्र्सवाद’ तथा ‘अर्थशास्त्र’सम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् । 

विसं २०१७ देखि सक्रिय राजनीति प्राररम्भ गरेका कांग्रेस नेता पाठकवर्गको बौद्धिक तिर्खा मेटाइदिन सक्ने समालोचक पनि थिए । उनले बिपी र मदनमणि दीक्षितका केही पुस्तकको समालोचनासमेत गरेको साहित्यकार रोचक घिमिरेले जानकारी दिए । 

विभिन्न सार्वजनिक समारोहमा कांग्रेस नेता गिरीले राजनीति र साहित्य जनताका लागि गर्नु र लेख्नुपर्छ भन्थे । उनले झन्डै चार वर्ष जेल जीवन बिताएको छ । भारतको जवहारलाल नेहरु विश्वविधालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्ने प्रायः सबैले रुचाइएका नेता थिए ।  

गिरीले एक पटक एक सार्वजनिक कार्यक्रममा जबसम्म युवा गाउँमा अडिने वातावरण हुदैन तबसम्म वास्तविक समाजवाद नआउने चर्चा गरेको थियो । उक्त कुरा अहिले सावित हुँदै गएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार