लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने

आइतबार, कात्तिक ८, २०८३

ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल निर्माणको काम तीव्र गतिमा बताए । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको उनको भनाई छ । चक्रपथमा सडक वारपार गर्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न महानगरपालिकाले उक्त संरचना निर्माण गरेको महानगरले जनाएको छ । यो अपाङ्गतामैत्री लिफ्टसहितको पुल हो । यहाँ धेरै मानिसले सडक वारपार गर्नुपर्ने भए पनि सहज र सुरक्षित व्यवस्था नहुँदा दुर्घटनासमेत हुने गरेको थियो । त्यसलाई सम्बोधन गर्न महानगरपालिकाले यो पुल निर्माण गरेको हो ।   पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । लिफ्ट प्रयोग गर्न सम्बन्धित बटन थिचेपछि आवश्यक दिशातर्फ जान सकिने प्रणाली जडान गरिएको छ । यसले विशेषगरी सिँढी चढ्न कठिनाइ हुने व्यक्तिलाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ । पुलमा लिफ्टका साथै स्तनपान कक्ष र कफी सपसमेत रहने छ ।  आधुनिक सुविधासहित निर्माण भइरहेको उक्त पुल नेपालमै फरक प्रकृतिको संरचना हुने छ । पुल निर्माणको काम निर्धारित समयभन्दा केही ढिलो भएको छ । निर्माणका लागि आवश्यक सामग्री समयमा उपलब्ध हुन नसक्दा काम लम्बिएको हो ।   दुई वर्षअघि यसको शिलान्यास भएको हो । पहिले नै सम्पन्न गर्ने भनिएको थियो, तर आवश्यक सामग्री नआइपुगेका कारण केही ढिलाइ भयो । अहिले भने तीव्र गतिमा काम भइरहेको छ । पुल सञ्चालनमा आएपछि कुसुन्ती हाइट तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रीलाई चक्रपथ वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा अशक्त व्यक्तिका लागि लिफ्टको सुविधा उपयोगी हुने देखिन्छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार