नेकपा एसका दुई जिल्लाले चयन गर्‍यो नयाँ अध्यक्ष

आइतबार, भदौ ५, २०७९

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)का दुई जिल्ला कमिटीले अध्यक्ष चयन गरेका छन् । काठमाडौं जिल्ला कमिटी तथा काभ्रेपलाञ्चोक जिल्लाले अध्यक्ष चयन गरेका हुन् । नेकपा एसको काभ्रेपलाञ्चोक अध्यक्षमा बसुन्धरा हुमागाईं चयन भएकी  छन्  भने काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् ।

काभ्रको बनेपामा शनिबार पार्टीको पाँचौं बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षीमन्त्रीसमेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो ।
 बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको छ । हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव थिए ।
यस्तै काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । यहाँ आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए ।
गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उनले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो औँल्याए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले न्यायपूर्ण समाज तथा समानता र सहअस्तित्वको समाज कायम गर्ने समाजवादको उद्देश्य रहेको प्रष्ट पारे । मुलुकमा युवा वेरोजगारी अन्त्य गर्न सीपयुक्त जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले त्यसले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरे । मुलुकमा भित्रिएको विप्रेषणलाई राष्ट्रिय पूँजी निर्माणमा उपयोग गरी देशलाई औद्योगिकरण गर्न आवश्यक रहेको बताए ।
उनले समान विचार भएका पार्टीसँग एकताको सम्भावना रहेको भए पनि नेकपा (एमाले) सँग तत्काल एकता नहुने बताए । अध्यक्ष नेपालले देशभर जनतालाई राजनीतिक रुपमा सङ्गठित गर्न अहिले सात सय ५३ पालिकामा पार्टीको सङ्गठन विस्तार भइरहेको जानकारी दिँदै जनताको चेतना भर्न र उनीहरुलाई जागृत गर्न कम्युनिष्ट पार्टीको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरे ।
उक्त कार्यक्रममा जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुमकुमार कार्कीले स्थानीय तहको निर्वाचनको समीक्षा ः आगामी निर्वाचनको कार्ययोजना प्रस्तुतथ.गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरी प्रचारप्रसारमा कमिटी क्रियाशील हुने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार