Dashain Banner
Dashain Banner

पूर्वजले बनाए चौतारी, सन्ततिले सिँगारे

बुधबार, साउन ४, २०७९

बागलुङ । उबेला चौतारीमा भरिया सुस्ताउँथे, बटुवाले बिसाइ मार्थे । खेतीपाती र घाँसदाउरा गर्नेहरु थकान मेट्थे । चौतारीमा वरपीपल हुन्थे । तिनले धार्मिक विश्वास बोक्थे । चौतारी लोकजीवनका साझी थिए । पछि विकास आयो ।
मानिसका आनाबानी फेरिए । चौतारी बेवास्तामा परे । कति सडकले मासे । कुनै सम्भार नपाई भत्के । गाउँको चिनारी बोकेका चौतारी सङ्कटमा पर्दै गए । समयसालमा लोपै भएर पो जाने हुन् कि भन्ने पीरलो थपियो । गाउँलाई सडकले छिचोलेपछि चौतारी ओझेलिए । रेखदेख पनि भएन ।
यस्तो बेला गलकोट नगरपालिका–७ मल्म, टोक्रीका स्थानीयवासीले देउरालीको पुरानो चौतारी पुनःनिर्माणको सोच बनाए । त्यसको अगुवाइ राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले ग¥यो । बाउबाजेले बनाएको चौतारी जीर्ण भएर अस्तित्व नामेट हुने स्थितिमा पुगेपछि गाउँलेहरु चौतारी जोगाउन जुर्मुराए ।
जापानमा बस्ने काजी खलकका रामबहादुर थापाले चौतारी पुनःनिर्माणमा लाग्ने सबै खर्च पठाए । उनका रिवारजनसहित स्थानीय मिलेर चौतारीलाई नयाँ रुप दिइछाडे । केन्द्रका अध्यक्ष विष्णु थापाका अनुसार रामबहादुरले पठाएको रु दुई लाख ३७ हजार ७७७ बाट चौतारी पुनःनिर्माण गरिएको हो ।
“ठ्याक्कै देउरालीको चौतारी कहिले र कस्ले बनाएको भन्ने यकिन हुन सकेन, पितापुर्खाले दुई÷तीन सय वर्षअघि निर्माण गरेको हुन सक्ने बूढापाका बताउँछन्”, अध्यक्ष थापाले भने, “ढुङ्गा नकुँदी चौतारी चिनिएकाले औजार बन्नुभन्दा पहिले नै बनाइएको अनुमान पनि लगाउने गरिन्छ ।”
त्यस क्षेत्रमा खेतीपाती तथा पशुपालन बढी हुने भएकाले किसानले चौतारी र पोखरी धेरै निर्माण गरेका थिए । छिमेकी गाउँ पाण्डवखानी, रमुवा, रणसिँहकिटेनी, खोलाखर्कलगायत पश्चिम बागलुङ छिर्ने गोरेटो बाटोमा पर्ने भएकाले देउरालीको चौतारी उन्ताकादेखि नै चल्तीमा थियो ।
एक हजार ८०० मिटरको उचाइमा अवस्थित चौतारीको बीचमा ठिङ्ग उभिएको लाँकुरीको बोटले पदयात्रीलाई अहिले पनि उसैगरी लोभाइदिन्छ । पुनःनिर्माणपछि चौतारी झनै चिटिक्क परेको छ । “चौतारीको नामोनिसान नै जान्छ कि भन्ने डर थियो, गाउँको सम्पदा र संस्कृति जोगाउन सफल भइयो”, केन्द्रका अध्यक्ष थापाले भने, “वडा कार्यालय र दातासँग मिलेर यहाँका अरू चौतारी र पोखरीको पनि संरक्षण गर्छौं ।”
देउरालीको चौतारी पुनःनिर्माणमा सघाएर काजी परिवारले पुण्यको काम गरेको उनको भनाइ छ । पुनःनिर्मित चौतारी गत साता समुदायलाई हस्तान्तरण गरिएको थियो । त्यसबेला स्थानीयले भजनकीर्तनसहित खुसी साटासाट गरेका थिए ।
सहयोगदाता रामबहादुरले यसअघि पनि गाउँमा पदमार्ग निर्माण, विद्यालयमा अक्षयकोष स्थापनालगायत सामाजिक सेवामा योगदान दिँदै आएका छन् । उनी गलकोट समाज जापान, नागोयाका अध्यक्षसमेत हुन् ।
सोही वडाका दिवङ्गत हर्कबहादुर परियारले सन्तान लाभ हुने विश्वासमा धेरै पहिला घरअघि चौतारी चिनेका थिए । उनका नाति ईश्वरका अनुसार हजुरबुबाले चौतारी र पोखरी बनाएपछि संयोगवश छोराछोरी पनि जन्मे । 
हर्कबहादुर भारतीय सेनामा काम गर्थे । “हाम्रो समुदायमा हजुरबुबा नै सेनामा जागिर खाने पहिलो व्यक्ति हुनुहुन्थ्यो, उहाँले त्योबेला गाउँमा पोखरी, चौतारी निर्माण गर्नुभएको थियो”, नाति ईश्वरले सुनाए ।
समय बित्दै जाँदा हजुरबुबाले बनाएको चौतारी जीर्ण बनेपछि आफूहरु तीन भाइ मिलेर चौतारी पुनःनिर्माण गरेको उनले उल्लेख गरे । “बाउबाजेले बनाएको चौतारी जोगाउनुपर्छ भन्ने लाग्यो, यसलाई सामाजिक दायित्वका रुपमा पनि लियौँ”, ईश्वरले भने, “झन्डै दुई लाख खर्चेर चौतारी पुनः निर्माण गरेका हौँ ।”
अहिले डाँडाघरको उक्त चौतारी चिटिक्क परेको छ । हर्कबहादुरका नाति ईश्वर, बाबुराम र प्रशान्त मिलेर चौतारी पुनःनिर्माण गरेका हुन् । यी त चौतारी संरक्षणमा लिइएका पहलका दुई नमूना मात्र हुन् । पछिल्लो समय इतिहास र संस्कृतिसँग जोडिएका पाटीपौवा, चौतारी, पोखरी आदि संरक्षणमा चेत जागेको छ ।
कहीँ जनस्तरबाट त कतै राज्यका निकायले पनि यस्ता सम्पदाको संरक्षणमा चासो देखाउन थालेका छन् । आफ्ना पूर्वजले बनाएका त्यस्ता संरचना जोगाउनेतिर सन्नतिको ध्यान गएको छ । दिवङ्ग स्वजनका नाममा नयाँ चौतारी बनाउने चलन पनि छ । कतिपय स्थानीय तहले त चौतारी र पोखरी संरक्षणको अभियान नै चलाएका छन् । 
गलकोट–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाको पदभारग्रहणपछिको पहिलो निर्णय नै वडाभित्रका पोखरी र चौतारी संरक्षण गर्ने थियो । उनले पाँचवर्षे कार्यकालमा वडाभित्रका ७७ पोखरी संरक्षणको योजना ल्याउनुभएको छ । त्योसँगै उपयोगमा आउने चौतारी पुनःनिर्माणमा पनि लगानी गरिने वडाध्यक्ष थापाको भनाइ छ । पोखरी र चौतारी जोगाउँदा जल प्रणाली तथा पर्यावरणमा टेवा पुग्ने उनले बताए । चौतारीमा लगाइने वरपीपलले छहारी मात्रै प्रदान नगरेर सबैभन्दा बढी अक्सिजन पनि दिन्छन् । 
वरपीपलका पात र बोक्रामा औषधीय गुण पनि हुने जानकारहरु बताउँछन् । “पाटीपौवा, सत्तल र चौतारा हाम्रा गाउँका सम्पदा हुन्, पुर्खाले छोडेका चिनो हुन्, यिनको संरक्षण नगरे इतिहासको कडी पनि टुट्छ”, वडाध्यक्ष थापाले भने, “संरक्षणमा सबैको हातेमालो चाहिन्छ, पुनःनिर्माण गर्दा मौलिकता नबिग्रने गरी पुरानै स्वरुपमा गर्नुपर्छ ।’–रासस 


 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार