सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीहरू विहानै ५ बजे देखि लाईन बस्ने गरेका छन् । दैनिक ६० जनाले मात्रै सेवा पाउने भएपछि टोकन लिनकै लागि बिहान ५ बजे देखिनै लाइनमा बस्ने गरेको सेवाग्राहीहरूकाे भनाइ छ । जिल्लामा दैनिक दुई सयको हाराहारीमा सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि मात्रै आउने गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । तर, कार्यालयले भने हाल दैनिक ६० जनालाई मात्रै सेवा दिन सकेकाेको लमजुङका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले बताए ।
सरकारले राहदानीका लागि राष्ट्रिय परिचय अनिवार्य गरेकोले सेवाग्राही बढेकाे प्रजिअ वैद्यले बताए । राष्ट्रिय पत्र सेवा प्रवाहका लागि हाल एउटा मात्रै डेक्स रहेकोले पहिला नाम दर्ता गर्ने र पालोअनुसार बोलाउने गरेको प्रजिअ वैद्यको भनाइ छ । सेवाग्राहीको चाप बढेसँगै सेवा प्रवाहलाई सहज बनाउन जनशक्ति र आवश्यक उपकरण माग गरेकाे प्रजिअ वैद्यले बताए । मागअनुसार मन्त्रालयबाट पनि थप जनशक्ति र उपकरण उपलब्ध गराउने निर्णय भइसकेकोले केही दिनमै अस्थाई व्यवस्थापन गरी साउन महिनासँगै दुई वटा स्टेशनबाट सेवा प्रवाह सुरु गरिने प्रजिअ वैद्यले बताए । गत साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भएको हो । सोही अभियानलाई विस्तार गर्दै स्थानीय तहमा पनि अभियान सञ्चालन गर्नेगरी तयारी भइरहेको प्रशासनले जनाएको छ ।
सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबैखाले सेवा प्रवाह छिटो छरितो गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान शुरु गरेको हो ।सुरक्षा चिप्ससहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिनेबाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पुर्याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।