सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । कोजाग्रत पूर्णिमाका अवसरमा सोमबार विभिन्न ठाउँमा मेला लगाइएको छ । सुर्खेत र दैलेखको सीमाना टोट्नाउलामा पनि मेला लागेको छ । सुर्खेतको चिङ्गाड र दैलेखको गुराँस गाउँपालिकाको सीमाना टोट्नाउलामा मेला पूर्णिमाको दिनमा लाग्ने गर्दछ । प्रत्येक बर्ष बडादशैँअन्तर्गत शुक्ल चतुर्थीको साँझदेखि कोजाग्रत पूर्णिमासम्म मेला लाग्ने गरेको भएपनि पछिल्ला बर्षहरुमा पुर्णिमाको दिनमा मात्रै मेला लाग्ने गरेको हो । दुई जिल्लाको सीमानामा लाग्ने र वडादशैँको अवसरमा लाग्ने भएकाले मेलाको महत्व धेरै रहेको बुढापाकाहरु बताउँछन् । तर अहिले यसको महत्व घट्न थालेको उनीहरुको भनाई छ । ‘सत्य युगमा सुर्खेत, दैलेख र जाजरकोट तीन जिल्लाको सीमानामा पर्ने गुराँसे लेकबाट मालिकादेवी घुम्न जाने बेला थकान मेट्न बसेकाले त्यहाँ मालिकालाई पुज्ने गरिएको छ,’ स्थानीय जेष्ठ नागरिक अमर बहादुर ओलीले भने । परम्परागत रुपमा मनाउने गरिएको टोट्नाउला मेलालाई पछिल्लो समय रमाइलो र भेटघाट गर्ने थलोको रुपमा लिने गरिएको उनको भनाई छ । मेलाको प्रचार–प्रसार नहुँनु र रमाईलोका रुपमा मात्र लिइनुले महत्व घटेको स्थानीय बताउँछन् । स्थानीय प्रेम बहादुर रामजाली भन्छिन,‘मेलाको महत्व घट्दै गएको छ, जसले हाम्रो पुरानो संस्कार समेत मासिने डर छ ।’ निकै महत्वका साथ मनाइने यो मेला अहिले मदिरा सेवन गर्ने, रमाइलो गर्ने र भेटघाट गर्नेमा मात्रै सीमित रहन थालेको उनको भनाई छ । मदिराका कारण झमेला आइपर्ने भएकाले सुरक्षा व्यवस्थालाई मजवुद बनाइएको स्थानीय भीमबहादुर डाङ्गीले बताए । पहिले दुई दिन पञ्चेवाजा, गर्रा नाच, लहरे नाच, सिँगारु नाचको प्रदर्शन हुने गरेपनि केही बर्षयता एकैछिन मात्रै प्रदर्शन हुने गरेको छ ।खासगरी सयौं बर्षदेखि देवीका रुपमा मान्दै आएको मालिका बज्यैको पुजा गर्ने दिनमा सबै जम्मा हुने गरेकोमा अहिले यसलाई मेलाको रुपमा लिने गरिएको हो । मेलासँगै यसवेला मेलास्थलमा रहेको देवि मालिकाको मौलो पुज्ने गरिन्छ ।