पोर्चुगलमा विमान दुर्घटनामा परी चालकको मृत्यु 

शनिबार, असार ३२, २०७९
Global Ime Bank

लिस्बन ।  पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ ।  देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रिय आपतकालीन स्वास्थ्य सेवा संस्थाका चिकित्सकहरूको टोलीले ती चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् ।
“दुर्घटनाग्रस्त विमानमा आगलागी समेत भएकाले विमान पुरै क्षतिग्रस्त भएको छ,” एक स्थानीय अधिकारीले भने । 
देशको हवाई तथा रेलमार्ग दुर्घटना न्यूनिकरण तथा अनुसन्धान कार्यालयले घटनाको छानविनका लागि टोली परिचालन गरेको छ । 
दुर्घटनाप्रति प्रधानमन्त्री मार्सेलो रिवेलो डे सौसाले दुःख व्यक्त गर्दै दुर्घटनामा परी निधन भएका विमान चालकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पोर्चुगलमा अहिले अत्यन्त गर्मी रहेको र गर्मीका कारण यस्ता दुर्घटना धेरै हुने गरेको पाइएको छ । त्यसैगरी गर्मीको समयमा आगलागी सम्बन्धी घटना पनि धेरै हुने गरेका छन् ।

मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः चौध सैनिकको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना  हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।  लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका  मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् । 
नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको  सुरक्षा गरिरहेको थियो । 
 दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ । राफेललाई  संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई  अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार