रुसी सेनाको हमलामा १५ जनाको मृत्यु

सोमबार, असार २७, २०७९
Global Ime Bank

किभ । पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ  । आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले बताएका छन् ।  पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले दिएका छन् । पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्रापत विवरणहरुमा जनाइएको छ । चासिभ यार दोनेत्स्क सहरमा क्रामाटोरस्क क्षेत्र नजिकै पर्छ । पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन् ।

२ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न रुससँग अमेरिकाको माग
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी अन्न निर्यातमा प्रतिबन्ध लगाएकोले श्रीलंकाको अशान्तिमा बल पुगेको हुन सक्ने टिप्पणी गरेका छन् । यसले अन्य संकट निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामी यो रुसी आक्रामकताको प्रभाव जताततै देखिरहेका छौँ । यसले श्रीलंकाको अवस्थामा पनि  असर गरेको हुन सक्छ । हामी विश्वभरको प्रभावको बारेमा चिन्तित छौं’, ब्लिन्केनले बैंककमा सञ्चारकर्मीलाई भने ।

मस्कोले फेब्रुवरीमा लगेको २ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न पनि उनले रुससँग माग गरे । ‘युक्रेन विरुद्ध रूसी आक्रमणले संसरभर उल्लेखनीय रूपमा खाद्य असुरक्षा बढेको देखेका छौँ । ’ ब्लिन्केनले भने । युक्रेन युद्धको असर थाइल्याण्डमा पनि देखिएको उनले बताए । नाकाबन्दीका कारण मलको मूल्य आकाशिएको उनको भनाइ थियो ।

श्रीलंकामा खाद्यान्न र इन्धनको चर्को अभावका कारण हप्तौंदेखिको अशान्ति छ । शनिबार  सरकारी निवासमा प्रदर्शनकारीले तोडफोड गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राजीनामा दिन राजी भएका छन् ।–एजेन्सी
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार