सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोनाभाइरसको खोप विश्वबजारमा उपलब्ध हुने बितिक्कै नेपालमा ल्याउने गरी प्रक्रिया थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले विश्वका विभिन्न विकसित मुलुकहरूले कोरोनाभाइरसका लागि बनाइएका खोपको तेस्रो परीक्षण गरिरहेका छन् । तीमध्ये कुन प्राथमकितामा रहने भन्नेबारे अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । यसै साता स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्वबजारमा उपलब्ध भएसँगै नेपालमा पनि आउँदो मार्च महिनासम्ममा आइपुग्ने बताएका थिए । सरकारले गतसाता विदेशमा बनेका ती खोप र औषधि ल्याउने कानुनी बाटो खोल्नका लागि अध्यादेशसमेत जारी गरिसकेको छ । अमेरिका, बेलायत, चीन, रुसलगायत विभिन्न विकसिकत मुलुकमा खोप अन्तिम चरण परीक्षण भइरहेका छन् ।
गृहकार्य खोप ल्याउनका लागि खोप बनिरहेका देशमा कूटनीतिक नोटसमेत पठाइसकिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । ‘जुनजुन देशमा खोप बनिरहेको छ ती सबै देशलाई हाम्रो परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाइसकेको छ’, उनले भने । अहिले परीक्षणमा रहेका खोप १२ वर्ष उमेर माथिका लागि मात्रै हो । त्यसबाहेक जनसंख्याको २० प्रतिशतलाई खोप ल्याउनका लागि ग्लोबल भ्याक्सिन अलाइन्स र विश्वस्वास्थ्य संगठन मिलेर कोभ्याक्स भन्ने अवस्था निर्धारण तय गरेका छन् । उक्त कोभ्यासले नेपालजस्तो गरिब मुलुकलाई खोप किनेर लगाउने कि सहुलियतमा लगाउने भनेर करिब ६ महिना अगाडि नै सोधेको डाक्टर गौतमले बताए । नेपालले सहुलियतमा जनसंख्याको करिब २० प्रतिशत अर्थात्, ६० लाख डोज चाहिने बताएको र त्यसको जवाफमा ‘उपलब्ध गराउने’ भनेर करिब डेढ महिनाअगाडि नै प्रतिबद्धता सहितको जवाफ आइसकेको उनले बताए ।
खोपको प्राथमिकता सूचीमा को ? जनसंख्याको करिब ३ प्रतिशत अर्थात् ९ लाख स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका अग्रमोर्चामा काम गर्ने पर्छन् । त्यसबाहेक ५५ वर्ष उमेर कटेका १७ प्रतिशत अर्थात् ५१ लाख रहेका छन् । ‘कोभ्याक्सले खोप उपलब्ध गराएपछि पहिलो प्राथमिकतामा यो ६० लाख जनसंख्या पर्छ’, प्रवक्ता डाक्टर गौतमले भने । बाँकी रहेको जनसंख्याका लागि खोप जुटाउन ६० देखि ७० अर्ब रुपैयाँ पर्ने अनुमान गरेर त्यसै अनुसार विभिन्न दातृ निकायबाट रकम जुटाउने काम भइरहेको उनले बताए ।
नेपाललाई कहाँ बनिरहेको खोप सुहाउँदो होला? कतिपय देशले परीक्षणको अन्तिम चरणमा रहेका देशहरूबाट खोप किन्नका लागि प्रीबुक गरिसकेका खबरहरू आइरहेका छन् । तर नेपालको तर्फबाट भने त्यति धेरै पहलहरू नभएको बताइन्छ । डाक्टर गौतम भने नेपालमा देखिएको भाइरसको प्रकृति अध्ययनका लागि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) पनि अध्ययन सकेकोले त्यसका आधारमा पनि कहाँ बनेको खोप नेपाललाई ठिक हुन्छ भन्नेतर्फ विचार पु¥याउनुपर्ने बताँछन् । ‘पहिला त खोप नै बनिसकेको छैन। बनिसकेपछि पनि हामीलाई कहाँको सँग मिल्दोजुल्दो हुन्छ, कति खर्चिलो हुन्छ, त्यसको व्यवस्थापन र भण्डारणको पक्ष हेरेर ल्याउँदा मार्च वा एप्रिल होला कि भन्ने छ’, प्रवक्ता गौतमले भने । अहिले खोप परीक्षण भइरहेका मुलुकहरूमा डिसेम्बर महिनाभित्र ती खोपहरू उपलब्ध हुने विवरणहरू आइरहेका छन् । एनएचआरसीले कोरोनाभाइरसको आनुवंशिक संरचनाको अध्ययन गरिसकेको र त्यसको निष्कर्षले नेपालीको भाइरस भारत र साउदी अरेबियामा देखिएको प्रकृतिसँग मिल्दोजुल्दो रहेको देखिएको जनाएको छ । उक्त प्रतिवेदन छिट्टै सार्वजनिक गर्न लागिएको बताउँदै एनएचआरसीका सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले नेपालमा कस्तो खोप ठिक हुन्छ भन्ने सुझाव दिनका लागि थप नमुना लिएर नियमित आनुवंशिक संरचनाको अध्ययन गरिनुपर्ने बताएका छन् । सरकारले खोप ल्याउनका लागि गृहकार्य गरिरहेका बेला अहिलेसम्मको अवस्था हेर्दा कहाँ कसले बनाइरहेको खोप नेपालका लागि ठिक होला ? पाटन अस्पतालमा कार्यरत तथा औषधि विज्ञानबारे अनुसन्धान गर्दै आएका चिकित्सक बुद्ध बस्नेत भन्छन्, ‘चीनले एकरदुई दिनमै खोपको पछिल्लो विवरण दिन्छ होला । मलाई चाहिँ त्यो खोप र अक्सफोर्डले बनाएको र भारतको सीरम इन्स्टिट्यूटले धेरै अगाडि उत्पादन थालेको खोप नेपाललाई ठिक हुन्छ कि जस्तो लाग्छ ।’ बस्नेत अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिट नेपालका निर्देशकसमेत हुन् ।