नदीजन्य पदार्थको दोहन बढ्दा सरोकारवाला निकाय मौन

शुक्रबार, असार २४, २०७९

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १ तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी निकासी बढ्दै गइरहेको छ । केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुगा नदी किनार तथा वडा नं १२ को त्रिवेणी तथा आर्यघाटसहित त्रियुगा पुल आसपासका क्षेत्रबाट रात्रिको समयमा र केहीले दिनमै पनि  नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यलाई तीव्रता दिँदै आएका छन् ।

मनपरी नदीजन्य पदार्थ निकासी र दोहन हुँदा पनि यसका सरोकारवाला निकाय मौन बस्ने गरेको स्थानीयवासीको गुनासो छ ।वडा नं २ स्थित खैजनपुरका कृष्णराज धाँमी भन्छन्, “पन्ध्र दिनदेखियता आएर केही ट्र्याक्टर व्यवसायी र केही अन्य गिरोहको मिलेमतोमा स्थानीय लुहाले खोला आसपासबाट रात्रिको समयमा मनपरी ढङ्गले ढुङ्गा उत्खनन र निकासी गर्ने कार्य भइरहेको छ ।”
 
त्रियुगा नदी आसपासबाट दिनमै दर्जनौ ट्र्याक्टरले अवैधरुपमा बालुवा तथा रोडा उत्खनन गरेर निकासी गरिरहेकाले यस विषयमा  पटकपटक सरोकावाला निकायलाई जानकारी गराउँदा पनि  नियन्त्रणमा सरोकारवाला निकायले खासै चासो नदेखाएको उनको भनाइ छ ।

वडा नं ५ को देउरी तथा बगाहा क्षेत्रको त्रियुगा नदी किनास क्षेत्रबाट पनि अहिले दैनिक दर्जनौँ ट्र्याक्टरले नदीजन्य पदार्थ खुलेआम निकासी गरेर बिक्री गर्ने गरेको बगाहाका राकेश खड्का बताउछन् ।  । स्थानीय पालिका, वडाका जनप्रतिनिधि र प्रहरी प्रशासनलाई समेत जानकारी गराउँदा पनि नियन्त्रण गर्नेतर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।जिल्ला सदरमुकाम गाईघाट बजारको पूर्वतर्फ अवस्थित बरुवा नदीको ढिम्की, चपन, क्षेत्रमा महिनौँ अगाडिदेखि नदीको संरचना नै भत्काएर अवैधरुपमा ढुङ्गा निकासी भइरहेको त्रिनपा–११ शिवालय टोलका विष्णु कार्की बताउछन् ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार