सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रहरीले विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ । पत्रकार विश्वमणि सुवेदीलाई नेपाल प्रेसको कार्यालय मीनभवनबाटै प्रहरीले पक्राउ गरेको, मोटिभेट न्यूजका पत्रकार शोभराज बरालपनि पक्राउ गरेको साथै नयाँ पत्रिका र दियोपोष्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पुष्टि गरे । सादा पोसाकमा आएका प्रहरीले सुवेदी र बराललाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । साथै दियोपोष्ट र नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका केही व्यक्तिहरु प्रवेश गरेको जानकारी दिए । कुनै पक्राउ पूर्जीबिना समाचार कक्षमा प्रवेश गरेर पक्राउका विरुद्ध सडक आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए । यता, नेपाल प्रेसको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्यूरोमा समाचारका विषयमा छलफल गर्न भन्दै बोलाइएको छ ।
नेपाल प्रेसका अध्यक्ष र प्रधानसम्पादक साइबर ब्युरोमा नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेलगत्तै प्रहरीले उक्त सञ्चारमाध्यमको प्रकाशन संस्था नेपाल इ प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्युरोमा बोलाएको छ। प्रहरीले टेलिफोनमार्फत उपस्थित हुन भनेपछि अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेल साइबर ब्युरो पुगेका हुन् । यसअघि शुक्रबार प्रहरीले नेपाल प्रेसको कार्यालयमै पुगेर पत्रकार सुवेदीलाई पक्राउ गरेको थियो। त्यसलगत्तै सञ्चार संस्थाका अध्यक्ष र प्रधान सम्पादकलाई समेत सोधपुछका लागि बोलाइएको हो । नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सरकारले दबाब बढाएको विषयसम्बन्धी समाचारलाई लिएर सोधपुछ गर्न खोजिएको प्रहरी स्रोतको दाबी छ।