आधुनिक उपचार पद्धतीको अवभावमा उपल्लो डोल्पाबासीलाई ‘आम्ची’को भर 

शुक्रबार, कात्तिक १३, २०८३

सुर्खेत । स्वास्थ्य संस्था पुग्न घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्नुपर्ने, दुर्गम बस्तीमा औषधि तथा उपचार उपकरणको अभाव हुने र आधुनिक स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या उपल्लो डोल्पाका स्थानीयवासीका लागि अझै चुनौतीपूर्ण छ । यस्तो अवस्थामा पुस्तौँदेखि अभ्यास हुँदै आएको परम्परागत हिमाली चिकित्सा पद्धति ‘आम्ची’ यहाँका नागरिकका लागि उपचारको महत्वपूर्ण आधार बनेको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका विभिन्न बस्तीमा आम्चीहरूले स्थानीय जडीबुटीबाट तयार पारिएका औषधि तथा परम्परागत उपचार विधिमार्फत बिरामीको उपचार गर्दै आएका छन् । भौगोलिक विकटता र आधुनिक स्वास्थ्य सेवामा सीमित पहुँचका कारण आम्ची उपचार पद्धतिप्रति स्थानीयवासीको विश्वास र आकर्षण कायमै छ । आधुनिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने अवस्थामा आम्चीहरू स्थानीय समुदायका लागि उपचारका पहिलो सम्पर्क बन्ने गरेका छन् । तर यही अवस्थाले दुर्गम क्षेत्रका नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता पनि उजागर गरेको छ । डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङका अनुसार गाउँपालिकाले परम्परागत आम्ची उपचार पद्धतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । स्थानीय मौलिक ज्ञान र उपचार सीपको संरक्षण गर्दै आम्ची सेवालाई निरन्तरता दिन पालिकाले विभिन्न कार्यक्रम तथा बजेटमार्फत सहयोग गर्दै आएको उनको भनाइ छ ।

तीन गाउँपालिकाको नीति र बजेटमा आम्ची चिकित्सा

उपल्लो डोल्पाका तीनवटै गाउँपालिकाले स्थानीयस्तरमा प्रचलित आम्ची अर्थात् सोवा रिग्पा चिकित्सा पद्धतिको संरक्षण, विकास र प्रवद्र्धनका लागि नीतिगत तथा संस्थागत प्रयास गर्दै आएका छन्। यसमा कानुनी व्यवस्था, औषधि खरिद, जडीबुटी सङ्कलन, आम्ची स्वास्थ्य केन्द्रको विकास र परम्परागत ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने विषय समेटिएका छन् । शे–फोक्सुण्डो गाउँपालिकाले ‘परम्परागत उपचार पद्धति (आम्ची) संरक्षण र व्यवस्थापनसम्बन्धी ऐन, २०८२’ पारित गरी आम्ची सेवालाई कानुनी आधारमा व्यवस्थित गर्ने प्रयास गरेको छ ।  स्थानीय आम्चीले उत्पादन गरेका परम्परागत औषधिको बजार व्यवस्थापन र तिब्बतसम्म निर्यातको सम्भावनामा समेत पालिकाले सहयोग गर्ने योजना अघि सारेको विवरणमा उल्लेख छ । त्यस्तै, डोल्पोबुद्ध गाउँपालिकाले ‘रोग निवारणका लागि आयुर्वेद (आम्ची) र योग’ भन्ने अवधारणासहित वार्षिक कार्यक्रम तथा बजेटमा आम्ची उपचार पद्धतिलाई समेट्दै आएको छ। यसअन्तर्गत आवश्यक स्थानीय जडीबुटी, वनस्पति तथा परम्परागत औषधिको सङ्कलन र खरिदका लागि बजेट विनियोजन गर्ने गरिएको छ । तीनवटै गाउँपालिकाले आम्ची उपचार पद्धतिको विकासका लागि स्थानीयस्तरमा आम्ची स्वास्थ्य केन्द्र स्थापना, परम्परागत ज्ञानको संरक्षण र विद्यालयमा स्थानीय भाषा तथा आम्ची ज्ञानसँग सम्बन्धित विषय समेट्ने नीतिगत प्रयाससमेत अघि बढाएका छन् । भौगोलिक विकटताका कारण आधुनिक औषधि तथा स्वास्थ्य सामग्री ढुवानी गर्न कठिन हुने भएकाले स्थानीय आम्चीलाई सेवा निरन्तरताका लागि आर्थिक सहयोग र प्रोत्साहन उपलब्ध गराउने विषय पनि स्थानीय तहका कार्यक्रमसँग जोडिएको छ ।

करिब ६४ आम्ची सक्रिय रहेको अनुमान

उपल्लो डोल्पाको भोट क्षेत्रमा आधुनिक चिकित्सक तथा स्वास्थ्यकर्मीको नियमित उपस्थिति सीमित हुने भएकाले परम्परागत उपचार पद्धति अभ्यास गर्ने आम्चीहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ । यहाँ करिब ६४ जना आम्ची सक्रिय रहेको पालिकाले जनाएका छन् ।  शे–फोक्सुण्डो गाउँपालिकामा करिब ३० देखि ३५ जना आम्ची सक्रिय रहेको पालिकाले जनाएको छ । साल्दाङ, भिजेर र फोक्सुण्डो क्षेत्रका विभिन्न बस्तीमा उनीहरूले परम्परागत उपचार सेवा दिँदै आएका छन् । डोल्पोबुद्ध गाउँपालिकामा करिब १५ देखि १८ जना आम्चीले सेवा दिएका छन् । धो, ताक्सी र तिन्जे क्षेत्रका बासिन्दाले परम्परागत उपचारका लागि आम्चीको सेवा लिने गरेका छन्। त्यस्तै, छार्काताङसोङ गाउँपालिकाको मुकोट र छार्का भोट क्षेत्रमा करिब १० देखि १२ जना आम्ची सक्रिय रहेका छन् । उच्च हिमाली भूगोल र बस्तीबीचको लामो दूरीका बाबजुद उनीहरूले स्थानीयवासीलाई उपचार सेवा दिँदै आएका छन्।

नाडी, जिब्रो र मूत्र परीक्षणबाट रोग पहिचान

उपल्लो डोल्पामा प्रचलित आम्ची उपचार पद्धतिलाई ‘सोवा रिग्पा’ भनिन्छ। यसमा परम्परागत ज्ञान, प्राकृतिक औषधि, खानपान तथा जीवनशैलीसम्बन्धी सुझाव र विभिन्न बाह्य उपचार विधिको प्रयोग गरिन्छ । आम्चीहरूले बिरामीको नाडी छाम्ने, जिब्रो तथा आँखाको अवस्था निरीक्षण गर्ने र रङ, गन्ध तथा अन्य विशेषता हेरेर रोगको प्रकृति पहिचान गर्ने परम्परागत विधि अपनाउँछन् । त्यसपछि बिरामीको अवस्था र रोगको प्रकृतिअनुसार उपचार गर्ने गरिन्छ । स्थानीय हिमाली क्षेत्रमा पाइने जडीबुटी सङ्कलन गरी परम्परागत विधिबाट औषधि तयार पार्नु आम्ची उपचारको अर्को महत्वपूर्ण पक्ष हो । यार्सागुम्बा, पाँचऔँले, निरमसी, पदमचाललगायतका वनस्पति तथा जडीबुटीको प्रयोगसम्बन्धी ज्ञान यस परम्परासँग जोडिएको छ । यस्ता वनस्पतिको औषधीय उपयोग, उपलब्धता र संरक्षणमा भने वैज्ञानिक अध्ययन तथा दिगो सङ्कलन आवश्यक मानिएको छ ।  औषधिको प्रयोगसँगै खानपान, आराम, जीवनशैली र वातावरणसम्बन्धी सुझाव पनि दिइन्छ। कतिपय अवस्थामा तातो वा चिसो सेकाइ, जडीबुटीयुक्त तेलले मालिस गर्ने तथा अन्य परम्परागत बाह्य उपचार विधि अपनाइन्छन् ।

बोन र बौद्ध संस्कृतिसँग जोडिएको उपचार परम्परा

उपल्लो डोल्पाको सामाजिक तथा सांस्कृतिक जीवन बोन र बौद्ध परम्परासँग गहिरो रूपमा जोडिएको छ। यही सांस्कृतिक परिवेशमा आम्ची उपचार पद्धतिको विकास र अभ्यास हुँदै आएको छ । आम्चीहरूले शारीरिक उपचारसँगै प्रार्थना, मन्त्रोच्चारण र आध्यात्मिक अभ्यासलाई पनि कतिपय उपचार प्रक्रियासँग जोड्ने गरेका छन्। स्थानीय समुदायले यसलाई आफ्नो संस्कृति, परम्परा र पुस्तौँदेखि प्राप्त ज्ञानको अभिन्न अङ्गका रूपमा लिने गरेका छन् । प्रसिद्ध परम्परागत चिकित्सक, बौद्ध लामा तथा भोट संस्कृति अभियन्ता आम्ची नामग्याल रिन्पोछेले पनि आम्ची ज्ञान र हिमाली संस्कृति संरक्षणको महत्वबारे जोड दिँदै आएका छन्। यस पद्धतिमा औषधि तथा उपचार सीपसँगै स्थानीय भाषा, सांस्कृतिक अभ्यास र पुस्तान्तरण हुँदै आएको ज्ञानसमेत समेटिएको छ ।

परम्परागत ज्ञान संरक्षणसँगै सुरक्षित उपचारमा जोड

आम्ची उपचार पद्धति उपल्लो डोल्पाको मौलिक पहिचान र सांस्कृतिक सम्पदा हो। यसको संरक्षण गर्नु स्थानीय ज्ञान, जडीबुटीको पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप जोगाउनु रहेको स्थानीयको भनाइ छ ।  तर परम्परागत उपचारलाई व्यवस्थित बनाउन औषधिको गुणस्तर परीक्षण, सुरक्षित प्रयोग, उपचार विधिको अभिलेखीकरण र प्रभावकारितासम्बन्धी अध्ययन आवश्यक रहेको स्थानीय सरोकारवालाहरुको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार