सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बागमती प्रदेश सरकारकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले स्वदेशी फूलको उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताएकी छन् । ललितपुरको गोदावरीमा बिहीबार आयोजित १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै उनले पुष्प व्यवसाय नेपाली नागरिकको रोजगारी र उद्यमशीलताको महत्त्वपूर्ण आधार बनेको बताइन् । ‘हामी सबैलाई थाहा नै छ, फूल जीवन सजावट र देखाउने वस्तु मात्र नभएर हाम्रो धर्म, संस्कृति, चाडपर्व र दैनिक जीवनकै एउटा महत्त्वपूर्ण अभिन्न अङ्ग बनिसकेको छ । जन्मदेखि मृत्युसम्म, विवाह वा पूजाआजा, स्वागत होस् वा श्रद्धाञ्जली, हाम्रो जीवनका हरेक कार्यहरू फूलबिना पूर्ण हुन सक्दैनन्,’ उनले भनिन् । उनका अनुसार पुष्प व्यवसायमा ६० हजारभन्दा बढी नेपाली नागरिक जोडिएका छन् । विशेषगरी महिला र युवाहरू यस व्यवसायमा संलग्न हुनु उत्साहजनक रहेको उनले बताइन् । तर, वार्षिक करिब २६ करोड रुपैयाँभन्दा बढीको फूल तथा पुष्पजन्य वस्तु आयात भइरहेको तथ्यले नेपाल अझै पनि पुष्प बीउ, कट फ्लावर र आलंकारिक बोटबिरुवामा परनिर्भर रहेको उनको भनाइ छ । ‘चाडपर्व विशेषमा व्यवसाय ह्वात्तै बढ्ने र त्यसको मागलाई हाम्रै स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था बनाउनु आजको आवश्यकता हो। सयपत्री, गुलाब, कार्नेसन, सुनाखरी र लिली जस्ता बजारमा राम्रो सम्भावना भएका फूलहरूको व्यावसायिक विस्तारमा सरकार र व्यवसायी दुवै मिलेर लाग्नुपर्छ,’ उनले भनिन् । मन्त्री आले मगरले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताइन् । ‘सरकारको ‘बाई नेपाली फर्स्ट’ अर्थात् पहिलो प्राथमिकता नेपाली उत्पादनलाई दिने नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रतिस्पर्धाका साथ लागु गर्नुपर्छ र यसका लागि बागमती प्रदेश सरकारले आवश्यक पहल गर्नेछ भनेर यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु। नेपाली फूल नै प्रयोग गरौँ, हाम्रै स्वदेशी उत्पादनलाई माया गरौँ भन्ने भावना हरेक घर, कार्यालय, होटेल र रेस्टुरेन्टसम्म पुग्नुपर्दछ,’ उनले भनिन् । उनले पुष्प व्यवसायलाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन संरक्षित खेती, ग्रीनहाउस, थोपा सिँचाइ तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी ज्ञान र प्रविधिको विस्तारमा जोड दिनुपर्ने बताइन् । त्यस्तै, पुष्प व्यवसायको दिगोपनका लागि उत्पादनसँगै बजारको सुनिश्चितता आवश्यक रहेको उनले बताइन् । उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विकास गर्न, आधुनिक पुष्प बजार निर्माण गर्न तथा डिजिटल मार्केटिङ र अनलाइन बिक्रीलाई प्रोत्साहन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने उनको भनाइ छ । ‘निर्यात सम्भावना भएका फूलको पहिचान, खेती, प्रविधि विकास, गुणस्तर, मापदण्ड र निर्यात प्रक्रियामा व्यवसायीलाई सहजीकरण गर्नुपर्दछ । यसका लागि विश्वसनीय तथ्याङ्क र सूचना प्रणाली पनि उत्तिकै जरुरी छ । देशभरका पुष्प व्यवसायी, उत्पादन क्षेत्र र बजारसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न फ्यान र सम्बद्ध निकायले अग्रसरता लिन जरुरी छ,’ उनले भनिन् । मन्त्री आले मगरले पुष्प व्यवसायमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि, महिला तथा युवा उद्यमीलाई प्राथमिकता, सहुलियतपूर्ण ऋण र पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइन् । ‘बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन, पुष्प उत्पादन र व्यवसायलाई कृषि क्षेत्रअन्तर्गतका सेवा, सुविधा तथा प्रोत्साहनमा समेट्न र पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ,’ उनले भनिन् ।प्राकृतिक विपद्बाट हुने क्षतिमा व्यवसायीलाई राहत दिने नीतिगत व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गर्दै उनले पुष्प व्यवसायको विकासका लागि बागमती प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताइन् ।