पुष्प व्यवसायको कारोबार ३ अर्ब ९४ करोड रुपैयाँ 

बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं । नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/८१ मा १६.६१ प्रतिशतले वृद्धि भई करिब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठले ललितपुरको गोदावरीमा बिहीबार आयोजित १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले पुष्प व्यवसाय महिला, युवा, साना किसान तथा ग्रामीण क्षेत्रका उद्यमीका लागि आयआर्जन र आत्मनिर्भरताको महत्त्वपूर्ण माध्यम बनेको बताए । ‘महिला, युवा, साना किसान, ग्रामीण क्षेत्रका उद्यमीका लागि पुष्प व्यवसाय आयआर्जन र आत्मनिर्भरताको महत्त्वपूर्ण माध्यम बनेको छ । थोरै क्षेत्रफलबाट पनि तुलनात्मक रूपमा उच्च मूल्यको उत्पादन गर्न सकिने भएकोले उपयुक्त प्रविधि, गुणस्तरीय उत्पादन र बजारको व्यवस्था गर्न सकेमा यस क्षेत्रले कृषि आधुनिकीकरण र आर्थिक समृद्धिमा ठूलो योगदान पुर्‍याउन सक्नेछ,’ उनले भने, ‘आर्थिक वर्ष ८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा १६.६१ प्रतिशतले वृद्धि भई करिब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको जानकारी गराउन चाहन्छु ।’  श्रेष्ठका अनुसार हाल नेपालको पुष्प खेती सातै प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ । उपलब्ध क्षेत्रगत विवरणअनुसार ५४ जिल्लामा ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्प खेती भइरहेको छ । यस क्षेत्रमा १ हजार ४४५ भन्दा बढी व्यवसायी तथा उद्यमी संलग्न छन् भने ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ । त्यस्तै, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ६५ हजारभन्दा बढी जनशक्तिले यस क्षेत्रबाट रोजगारी प्राप्त गरिरहेको उनले बताए । भन्सार विभागको उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको करिब १६ करोड १३ लाख रुपैयाँ बराबरको आयात भएको थियो भने १ करोड १५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यी तथ्याङ्कले पुष्प व्यवसायको सम्भावना बढ्दै गए पनि स्वदेशी उत्पादन र बजारको मागबीच ठूलो अन्तर रहेको देखाउने श्रेष्ठले बताए । ‘अब हाम्रो प्राथमिकता उत्पादन बढाउने मात्र नभई गुणस्तर सुधार गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने र स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने रहनुपर्छ । हामीले विदेशबाट फूल आयात गर्ने बजार मात्र होइन, नेपाली फूल उत्पादन गरेर स्वदेशी माग पूरा गर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने सक्षम क्षेत्र निर्माण गर्नुपर्छ,’ उनले भने । श्रेष्ठले पुष्प व्यवसायको दिगो विकासका लागि नीतिगत सुधार, आधुनिक बजार पूर्वाधार तथा उत्पादन प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले पुष्प प्रवद्र्धन नीति, २०६९ को पुनर्लेखन तथा प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे । पुष्प तथा आलंकारिक बालीका नयाँ जात छिटो विकास हुने र अन्तर्राष्ट्रिय बजारको माग पनि परिवर्तन भइरहने भएकाले नयाँ जातको दर्ता, आयात, परीक्षण तथा व्यावसायिक प्रयोगसम्बन्धी प्रक्रिया सहज बनाउनुपर्ने उनको भनाइ छ । ‘पुष्प तथा आलंकारिक बालीका नयाँ जातहरू छिटो विकास हुने र अन्तर्राष्ट्रिय बजारको माग पनि निरन्तर परिवर्तन भइरहने भएकाले तिनको दर्ता र नियमन प्रक्रिया व्यावहारिक हुन आवश्यक छ । विद्यमान व्यवस्थाले नयाँ जातको आयात, परीक्षण र व्यावसायिक प्रयोगमा कठिनाइ उत्पन्न गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी पुष्प व्यवसायमैत्री, वैज्ञानिक र समयसापेक्ष व्यवस्था गर्न सरकारसँग म आग्रह गर्न चाहन्छु,’ उनले भने । त्यस्तै, प्रतिबन्धित प्लास्टिकजन्य कृत्रिम फूल तथा पुष्पजन्य वस्तुको प्रयोग, बिक्री वितरण र प्रचारप्रसार नियन्त्रण गर्न उनले माग गरे । यस्ता सामग्रीको प्रयोगले वातावरणमा प्रतिकूल असर पार्नुका साथै स्वदेशी प्राकृतिक फूलको बजारमा समेत नकारात्मक प्रभाव पारेको उनको भनाइ छ । नेपालको जैविक तथा वानस्पतिक विविधतालाई उपयोग गर्दै रैथाने फूल तथा शोभनीय वनस्पतिको व्यावसायिक उत्पादन र निर्यात प्रवद्र्धन गर्नुपर्नेमा पनि श्रेष्ठले जोड दिए । श्रेष्ठले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा फूल संकलन, वर्गीकरण, ग्रेडिङ, प्याकेजिङ, शीतभण्डार, मूल्य सूचना तथा वितरणको एकीकृत सुविधा भएको आधुनिक पुष्प थोक बजार स्थापना गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार