जसपाले मन्त्री फिर्ता बोलाउने 

मंगलबार, असार १४, २०७९

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री फेरे लगत्तै सत्ताको अर्काे घटक जनता समाजवादी पार्टी पनि सोही बाटोमा अघि बढेको छ । जसपाले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय नेताहरुको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । उपेन्द्र यादव निकट एक नेताका अनुसार काठमाडौंमा भएको गोप्य भेलाले यस्तो निर्णय गरेको हो । भेलामा संयोजक बाबुराम भट्टराई पक्षलाई भने बोलाइएको थिएन । भेलामा २० जना कार्यकारिणी सदस्यको उपस्थिति रहेको जनाइएको छ । सोमबार राति बसेको बैठकले सरकारमा रहेका चारजनामन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने अधिकार पनि अध्यक्ष यादवलाई नै दिइएको छ । जसपाबाट सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यावद र कृषि मन्त्री महिन्द्र राय यादव सहभागी छन् ।  भेलाले पार्टीको गतिविधि गर्ने सबैलाई कारवाही गर्ने निर्णय गरेको छ । त्यसैगरी असारभित्रै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि भएको ती नेताले जानकारी दिए ।

उपेन्द्र पक्षको निर्णयले बाबुराम र अशोक राई ‘आउट’

मध्यरातमा बसेको जनता समाजवादी पार्टीको बैठकले मन्त्री हेरफेर गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि अन्य दुई नेता ‘अधिकारविहीन’ हुन पुगेका छन् ।

पछिल्लो समय बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादव, बाबुराम भट्टराई र अशोक राईसहितको ‘हेड क्वाटर’ निर्माण गरी महत्वपूर्ण निर्णयमा तीनैजनाको हस्ताक्षर अनिवार्य गर्ने अधिकार दिए पनि सोमबारबाट दुई नेता अधिकारविहीन हुन पुगेका हुन् ।

‘हिजो बसेको बैठकले मन्त्रिपरिषद् गर्ने अधिकार अध्यक्षज्यू (यादव) लाई दिएका छौं,’ केन्द्रीय कार्यकारिणी समितिका सदस्य मृगेन्द्रकुमार सिंहले भने, ‘सो अधिकारअनुसार अब चारैजना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउनु हुनेछ ।’ उनका अनुसार नयाँ मन्त्री को को रहनेछन् रु त्यो भने अझै खुलाइएको छैन । 

जसपा नेपालमा आन्तरिक विवाद बढेपछि गत ३० फागुनमा केन्द्रीय समिति बैठक बस्न नसकेको खण्डमा तीनजना नेताले निर्णय लिने र तीनैजनाको नेताको हस्ताक्षर अनिवार्य हुने निर्णय भएको थियो । तर, स्थानीय तहको निर्वाचनपछि सो निर्णयअनुसार काम कारबाही नभइरहेको बेला यादव पक्षधर नेताले भट्टराई र राई दुवैलाई ‘आउट’ गरी मन्त्री हेरफेरको अधिकार अध्यक्ष यादवलाई दिएको हो ।

सो निर्णयसँगै जसपा नेपालमा पुनः विवाद देखापर्ने देखिएको छ । यसअघि अध्यक्ष यादवको एकल हस्ताक्षरसहित आउने मन्त्री हेरफेरकोे निर्णय कार्यान्वयन नगराउका लागि भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकषर्ण गराइसकेका छन् । तर, अध्यक्ष यादवले सोमबार पुनः अधिकार आफ्नो हातमा लिएपछि जसपाभित्रको आन्तरिक कलह अब सतहमा देखापर्ने भएको छ ।  

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार