संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जोसुकै कारबाहीको भागीदार हुनुपर्छ : रवि लामिछाने

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने गतिविधिमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कुनै व्यक्ति वा संस्था नरहेको स्पष्ट पारेका हुन् । ‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही छैन । कोही छैन । रास्वपा यसमा स्पष्ट छ । रवि लामिछाने यसमा स्पष्ट छ’, उनले भने । लामिछानेले संविधान र लोकतान्त्रिक व्यवस्थामा असर पुर्‍याउने गतिविधि गर्ने व्यक्तिले आफ्नो भूमिकाको जिम्मेवारी लिनुपर्ने बताए ।
‘कसैले पनि यसमा द्विविधा लिनुपर्दैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ। त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रूपमा भनेका छौँ,’ लामिछानेले भने । उनले संविधान र लोकतन्त्रको संरक्षणका विषयमा रास्वपाको धारणा स्पष्ट रहेको उल्लेख गर्दै त्यसविपरीत हुने गतिविधिमा संलग्न व्यक्तिलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । पछिल्ला राजनीतिक तथा न्यायिक घटनाक्रमका बीच रास्वपाले शनिबार सचिवालय बैठक आयोजना गरेको हो । बैठकअघि लामिछानेले न्याय क्षेत्रसँग सम्बन्धित विवादबारे पार्टीका मन्त्री तथा कानुनी पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार