नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता 

शनिबार, असार ११, २०७९

काठमाडौं । मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् ।  स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद  निरा जैरूबाहेकका ६ जना सांसदले ससंदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर फिर्ता गरेको एकीकृत समाजवादी पार्टी सचिवालय स्रोतले जनाएको छ। सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले भने हस्ताक्षर फिर्ता गरेका छन्। पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने विषयमा वहालवाला मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए । 

'पार्टीभित्र र सत्तामा पुगेपछि पनि निजी स्वार्थ देखिनु हुँदैन'

नेकपा एसका अध्यक्ष नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि पनि व्यक्तिले निजी स्वार्थ देखिन नहुने बताएका छन् । केन्द्रीय कमिटिको बैठकपछि आयोजित कार्यक्रममा उनले व्यक्तिवाद हाबी भयो भने वा अहंकार बढ्यो भने नेकपा एमालेको नेतृत्वको हालत जस्तो हुने बताए ।
उनले भने, ‘व्यक्तिवादकै कारण पार्टीभित्र कुनै पनि विषयमा छलफल भएन । कुरा समाजवादको गर्ने व्यवहार व्यक्तिवाद भएकै कारण पार्टीको कुनै पनि तहमा कुनै पनि विषयमाथि छलफल भएन । जनताका पीर, मर्का र समस्यालाई नेकपा एमालेले केन्द्रमा राखेन । त्यही कारण अहिले सरकार बाहिर रहनु परेको छ ।’
अहिले देशमा भइरहेको भ्रष्टाचार वृद्धि र महंगीको विरोधमा नेकपा एकीकृत समाजवादी जनताको साथमा छ । हाम्रौ विरोधका कारण प्रधानमन्त्रीले सत्ता साझेदार दलबीच बैठक बोलाउनु भयो र हाम्रै अडानका कारण करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटेकोे छ ।
कार्यक्रममा उनले पाँच दलीय गठबन्धन र विद्रोहको आवश्यकता बारे अब प्रश्न नउठ्ने पनि बताए । उनले कथित १० भाईले अझै पनि हामीलाई धारेहात लगाइ रहेका छन् । उनीहरूको त्यो पार्टीमा कुनै हैसियत नभएको बताए । एउटा दासको जस्तो मात्रै रहेको बताए । त्यस्ता व्यक्ति अझै पनि हाम्रो बारेमा टिप्पणी गरिरहेका छन् । 

‘हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौं’

समाजवादीका अध्यक्ष नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बजाएको बताएका छन् । केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उनको भनाइ छ । यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको दाबी गरे ।
कार्यक्रममा उनले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उनले निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार