चीन–भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन्ः विदेशमन्त्री वाङ

बिहीबार, असार ९, २०७९
Global Ime Bank

वेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् ।  चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार भएको भेटमा उनले एकअर्काप्रति शङ्काउपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका छन् । दुवै पक्षले एकअर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने तथा आपसी विश्वास अभिवृद्धि गर्न अपरिहार्य भएको बताए । 
“द्विपक्षीय सम्बन्धलाई सुमधुर, स्थिर र स्वस्थ तुल्याउन चाडोभन्दा चाँडो दुवै पक्षले आधा बाटो हिँड्नुपर्छ, विश्वव्यापी चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न तथा साझा हितको रक्षाका निम्ति दुवै देश एकताबद्ध भएर हिँड्नुपर्छ” चीनका शीर्ष कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार समिति सिह्वाले जनाएको छ । 
विदेशमन्त्री वाङले दुवै देशका नेताबीच भएका महत्वपूर्ण रणनीतिक सहमतिको पालना, सीमा समस्यालाई द्विपक्षीय सम्बन्धमा उचित स्थान दिन तथा तिनको समाधान संवाद र परामर्शबाट दुवै मुलुकले खोज्नुपर्ने बताए । 
चीन र भारतले जनता–जनताबीचको सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार, मानव जातिको उज्ज्वल भविष्य निर्माणमा मिलेर काम गर्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए । 
सन् २०२० को अप्रिल–मेमा  चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । 
कैयौँ चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।

अठार हजारभन्दा बढी चिनियाँ प्रहरीको फन्दामा

लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनमा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ । 
यो वर्षको पहिलो पाँच महिनामा देशभरबाट सात टनभन्दा बढी लागूऔषध बरामद गरिएको जनाउँदै उक्त मन्त्रालयले लागू औषधविरुद्ध कठोर नीति अवलम्बन गरिएको बताएको छ । लागू पदार्थविरुद्धको देशव्यापी अभियान पनि जारी रहने उक्त मन्त्रालयले जनाएको छ ।
लागू औषध नियन्त्रण विभागका अनुसार बितेका पाँच वर्षमा चार लाख ५१ हजार लागू औषधसम्बन्धी अपराध पर्दाफार भएका छन् भने पाँच लाख ८८ हजार अभियुक्तलाई हिरासतमा लिइएको छ । सोही अवधिमा तीनसय पाँच टन लागू औषध बरामद भएको छ । देशको लागूऔषधविरुद्धको अवस्थामा निरन्तर सुधार भइरहेको जनाउँदै सार्वजनिक सुरक्षा मन्त्रालयले लागूऔषध नियन्त्रण प्रणाली र क्षमतालाई पनि आधुनिकीकरण गर्ने थप प्रयास भइरहेका बताएको छ ।– रासस/सिह्वा

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार