भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार !

बिहीबार, असार ९, २०७९
Global Ime Bank

गायन (अफगानिस्तान) । दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधबारको भूकम्पले देशका धेरै भू–भाग क्षति भएका छन् ।
भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको र एक हजार पाँचसयभन्दा बढी घाइते भएका छन् । घाइते तथा मृतकको सङ्ख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । पक्तिका प्रान्तको गायन जिल्ला सबैभन्दा धेरै प्रभावित भएको छ । 
भूकम्पले भत्काएका भग्नावशेषमा मानिसको खोजी भइरहेको छ । बाँचेका घरायसी उपकरण लिएर खोजी तथा उद्धारमा जुटेका छन् । उनीहरू हातले भग्नावेशष हटाइरहेका छन् । तालिबान र उनीहरूको नियन्त्रणबाट भागेका अन्तरराष्ट्रिय समुदाय भूकम्प पीडितलाई सघाउन सङ्घर्ष गरिरहेका छन् । 
बढ्दो गरिबी र भोकमरीकाबीच थपिएको यो विपत्तिमा अफगानी अन्तरराष्ट्रिय समुदायको मुख ताकेर बसेका छन् भने बाह्य सहायता पनि मन्दगतिमा प्राप्त हुनथालेको छ । छिमेकी पाकिस्तानबाट केही राहत सामग्री प्राप्त भएको छ । 
दश महिनाअघि उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) र अमेरिकी सेना फिर्ता भएसँगै देशको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ । तालिबान शासन शुरू भएयता अन्तरराष्ट्रिय वित्तीय सहयोग पनि लगभग रोकिएको छ । 
भूकम्प पीडितले अन्तरराष्ट्रिय मानवीय सहायताका निम्ति आह्वान गरेका छन् । उनीहरूले भग्नावशेष हातले पन्छाएर पुरिएकालाई जीवितै उद्धार गर्न कठिन हुने पीडादायी परिस्थितिबारे जानकारी पनि गराएका छन् ।

अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग

अफगानिस्तानका भूकम्प पीडितका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो । पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएअनुसार ती सहायता सामग्रीहरुमा टेन्ट, लत्ता कपडा, खाद्यान्न र औषधि रहेका छन् ।
ती सामग्री बिहीबार नै अफगानिस्तान पु¥याइने तयारी गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ ।
अफगानिस्तानको दक्षिण पूर्वीक्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी एक हजार जनाभन्दा बढीको मृत्यु भएको हो ।
खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका थिए । भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दाबढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीले जनाएका छन् ।
भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार विहान १.३० बजेतिर भूकम्प आएको हो ।
घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकालाई हेलिकोप्टरको सहायताबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौँ उद्धारकर्ता पनि परिचालित छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो । तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।–रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार