कोभिशील्ड खोप समयमै नपाए खोप अभियान प्रभावित हुनसक्ने 

शुक्रबार, चैत २०, २०७७

काठमाडौं । कोभिड–१९ को खोप आपूर्तिमा असहजता देखिए नेपालमा कोरोनाभाइरसविरुद्ध खोपको पहिलो मात्रा लिएका लाखौँ व्यक्ति प्रभावित हुनसक्ने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अक्सफर्ड–अस्ट्राजेनेकाको खोप लगाएका व्यक्तिहरूले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने सुझाव दिएको छ ।  कोरोनाभाइरस सङ्क्रमण र खोप दुवै नयाँ भएकाले दोस्रो खोपको मात्रा लगाउन ढिला हुँदा देखिने परिणामबारे अहिलेसम्म विस्तृत विवरण आइनसकेको जनस्वास्थ्यविद्हरू बताउँछन् । भारतले कोभिशील्ड निर्यातमा रोक लगाएकाले नेपालमा पाउनुपर्ने खोपबारे अन्योल उत्पन्न भएको हो । तर विज्ञहरूले यथाशक्य धेरै खोप उपलब्ध गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
पहिलो चरणमा खोप लगाएका सवा चार लाखभन्दा बढी व्यक्तिलाई दोस्रो खोपको मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म दिने सरकारले बताएको छ । तर सञ्चित खोपको अभाव र नेपालले खरिद गरेको १० लाख खोपको आपूर्तिमा भइरहेको ढिलाइले ज्येष्ठ नागरिकहरूलाई लक्षित खोप अभियान प्रभावित हुनसक्ने चिन्ता विज्ञहरूले व्यक्त गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जेठ महिनाको मध्यसम्ममा भारतको सीरम इन्स्टिट्यूटसँग खरिद गरिएको खोप नेपाल आइपुग्ने अपेक्षा गरिएको बताएका छन् ।

खोपको अभाव भइरह्यो भने के हुन्छ ?
विज्ञहरूका अनुसार खोप उपलब्ध भएन भने नेपालले प्रतिबद्धता गरिएअनुसार १२ हप्ताभित्र खोपको दोस्रो मात्रा उपलब्ध गराउन सक्नेछैन ।
अहिले डब्लुएचओसहितका निकायले सिफारिस गरेको आठदेखि १२ हप्ताभित्र दोस्रो खोपको मात्रा लिनुपर्ने मापदण्ड कार्यान्वयन गर्न नसकिए त्यसले निम्त्याउने प्रभावबारे पर्याप्त अध्ययनहरू नभएको जानकारहरू बताउँछन् । सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यात भन्छन्, ‘हाम्रो शरीरले सुरक्षा प्राप्त गर्नका लागि पर्याप्त मात्रामा एन्टिबडीहरू चाहिन्छ । यो लडाइँमा सिपाही वा पल्टन चाहिए जस्तै हो ।’ ‘अलिकति पल्टन हुनु पनि नहुनुभन्दा राम्रो हो । खोपको पहिलो मात्राले मात्रै पनि हामीलाई सुरक्षा दिन्छ । तर योभन्दा अझ राम्रो सुरक्षा प्राप्त गर्नका लागि हामीलाई दोस्रो मात्रा चाहिन्छ । दोस्रो खोपले मात्रा पु¥याइदिन्छ जसले गर्दा हाम्रो रोगप्रतिरोधी क्षमता पूर्ण रूपमा विकसित गर्छ’ उनले भने ।
डा. बस्न्यात भाइरस र खोप दुवै नयाँ भएकाले निश्चित गरिएको समयमा खोप लगाउन सकिएन भने त्यसले कस्तो प्रभाव पार्छ अहिले नै भन्न नसकिने बताउँछन् । ‘यसबारे कसैलाई पनि थाहा छैन । यति थाहा छ कि अहिले बजारमा पाउने तमाम खोपहरू प्रभावकारी छन्, त्यो चाहिँ लगभग भन्न सकिन्छ । तीन महिनापछि लगायो भने के हुन्छ भन्न सकिँदैन । यो हाम्रो हातमा छैन । हाम्रो सरकारले खोप पाउनेबित्तिकै लगाउनमा नै जोड दिनुपर्छ’, उनले भने । उनी थप्छन् ‘तीन महिनापछि खोप उपलब्ध भयो भने पनि हामी लिन तयार हुनुपर्छ । कति प्रभावकारी हुन्छ वा कम प्रभावकारी हुन्छ त्यो कसैलाई पनि थाहा छैन । सरकारले लबी गरेर खोप ल्याउनुप¥यो । हामीसँग अरू विकल्प नै छैन । अहिलेको एउटै निकास भनेको खोप मात्रै हो ।’ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भारतबाट खरिद गरिएको १० लाख र खोपसम्बन्धी विश्वव्यापी अभियान कोभ्याक्समार्फत् उपलब्ध गराइने भनिएको थप १९ लाख खोपको मात्रा चाँडै प्राप्त गर्ने अपेक्षा गरेका थिए । तर भारतको खोप निर्माता कम्पनी सीरम इन्स्टिट्यूट अफ इन्डियालाई त्यहाँको सरकारले कोभिशील्ड खोप देशबाहिर निर्यात गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै कोभ्याक्स र नेपाल सरकार दुवैको योजना प्रभावित बनेको छ ।  सरकारलाई खोपसम्बन्धी सुझाव दिन गठित राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीले लगभग साढे तीन महिनासम्म पहिलो खोपको मात्राले नै काम गरिरहेको विभिन्न अध्ययनले देखाए पनि अझै धेरै कुरा जानकारीमा आउन बाँकी भएको बताए । उनले भने,‘डब्लुएचओले अहिलेसम्म तीन महिनाभित्र भनेको छ । तीन महिनामा विभिन्न कारणले नपाउनेहरूको पनि एन्टिबडीको तह अहिलेसम्म घटेर गएको छैन । १०० देखि १०५ दिनसम्मको तथ्यांक उनीहरूकोमा आएको छ । यसपछि के हुन्छ हामीलाई थाहा छैन ।’ उनले थपे, ‘हामीले पर्खिएर हेर्दै जानुपर्छ । सायद यस्तै कुराले पनि थाहा हुन्छ होला । कसैले पाउनै सकेनन् भने उनीहरूको एन्टिबडीको तह के हुन्छ त्यसको लागि दोस्रो मात्रा नपाएकाहरूको निगरानी गर्नुपर्ने हुन्छ । विदेशमा नियमित रूपमा त्यस्तो परीक्षण हुन्छ यहाँ पनि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले कोसिस गरिरहेको छ ।’  डा. अधिकारी पनि कोभिड–१९ विरुद्धको खोपबारे अझै पनि धेरै जान्न बाँकी भएको धारणासँग सहमत छन् । ‘कहिलेसम्म खोपले सुरक्षा दिन्छ, एक पटक मात्र दिएर बाँचुन्जेल हुन्छ कि हुँदैन, वर्षवर्ष दिनमा दिनुपर्छ कि पर्दैन । अझ पनि यसको बारेमा सबै कुरा थाहा भइसकेको छैन’, उनले भने ।

स्वास्थ्य मन्त्रालयका अधिकारी के भन्छन् ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालले खरिद गरिसकेको १० लाख मात्रा खोप आपूर्ति हुने समयबारे हालसम्म कुनै जानकारी नआएको जनाएको छ । भारत सरकारले निर्यातमा अस्थायी प्रतिबन्ध लगाएपछि खोप निर्माता कम्पनी सीरम इन्स्टिट्यूटसँग खासै कुराकानी नभइरहेको एक अधिकारीले बताए । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जेठ महिनाको १५ गतेबाट ६५ वर्षभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई खोपको दोस्रो मात्रा दिने तयारी रहेको बताए । उनी भन्छन् ‘पैँसट्ठी वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई खोप दिने विषयमा हामीलाई केही चिन्ता थियो । तर अहिलेको परिस्थितिमा खोप आउँछ भन्ने हामीलाई लागिरहेको छ । दश लाख खोप आएपछि हामीलाई पुग्छ ।’ यसै साता चीनबाट सरकारले आठ लाख मात्रा चिनियाँ सिनोफार्म खोप अनुदानका रूपमा प्राप्त गरेको थियो ।
उक्त खोप तीन हप्ताको अन्तरालमा दुई मात्रा दिनुपर्ने विज्ञहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई निश्चित अस्पतालबाट दिन थालिने बताए ।
उनका अनुसार चिनियाँ खोप लिने व्यक्तिहरूलाई अलग्गै खालको खोप कार्ड उपलब्ध गराइनेछ । यसबारे अन्तिम निर्णय राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकबाट सुझाव लिएर गरिनेछ । उक्त समितिका अध्यक्ष डा. अधिकारीले डब्लुएचओले आपत्कालीन प्रयोगको अनुमति दिएपछि उक्त खोपलाई प्रयोगमा ल्याउने सोचाइ रहेको उल्लेख गर्दै त्यसबारेको निकट भविष्यमा हुने बैठकलाई आफूहरूले कुरिरहेको प्रतिक्रिया दिएका छन् । डा. बस्न्यातजस्ता कतिपय विज्ञहरू अन्तर्राष्ट्रिय स्तरमा फरकफरक कम्पनीका खोपहरू मिसाएर लगाउँदा थप प्रभावकारी भइरहेको अनुसन्धानहरूले देखाइरहेको भन्दै सरकारले त्यो विकल्प पनि विचार गर्नुपर्ने बताउँछन् ।–बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार