सोसल मिडिया
Contact Us
युनिकोड
नानगाहर । अफगानिस्तानमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् । घाइतेमध्ये पाँच जना तालिबान सदस्य रहेका छन् । घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि स्वास्थ्यकर्मीहरूले जनाएका छन् । नानगाहर प्रान्तको घानी जिल्लामा बिहानको समयमा घटना भएको हो । जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित गरेर विस्फोटन गराइएको स्थानीय प्रहरी अधिकारीको भनाइ छ । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिइएको प्रहरीले जनाएको छ । राजधानी काबुलस्थित शिख गुरुद्वारामा विस्फोटन भएको दुई दिनपछि यो घटना भएको हो । गत शनिबार भएको सो घटनामा पनि कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए । त्यो घटनाको जिम्मेवारी भने इस्लामिक स्टेट खोरासन प्रान्त –आईएसकेपी)ले लिएको थियो । उसले वक्तव्य नै जारी गरेर घटनाको जिम्मेवारी लिएको हो । अफगानिस्तानमा लामो समय हिंसात्मक विद्रोह गरेको तत्कालीन विद्रोही तालिबान समूहले सत्ता कब्जा गरे पनि अर्को समूहले हिंसात्मक घटना गराइरहेको छ ।– रासस/एएनआई