सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामाबाद । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले विगतका नीतिका कारण पाकिस्तान विश्वमञ्चमा एक्लिएको बताउँदै भारतसँगको व्यापार र सम्बन्ध सुधारमा जोड दिएका छन् । इस्लामाबादको रणनीतिक अध्ययन संस्थानमा बिहीबार भएको कार्यक्रममा उनले युद्ध र द्वन्द्वको लामो इतिहासबाट गुज्रिएका दुवै देशले संवाद र आर्थिक कूटनीतिमा आफ्नो ध्यान केन्द्रित गर्ने समय भएको बताउँदै भारतसँग सम्बन्ध सुधार गर्न आफूले चाहेको स्पष्ट गरे । भारत सरकारले अधिनस्थ काश्मिरमा गरेका कारबाही र मुसलमान विरोधी गतिविधिका बाबजुद पाकिस्तानको हितका खातिर एक्लिएर बस्नु उपयुक्त नहुने विचार व्यक्त गर्दै विदेशमन्त्री जर्दारीले पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई) नेतृत्वको अघिल्लो सरकारले अन्तर्राष्ट्रिय रूपमा पृथक एवं सम्बन्ध विच्छेदको स्थितिमा रहेर अघि बढ्ने विगतकै ढाँचालाई निरन्तरता दिएको टिप्पणी गरे । दुवै देश एकअर्काविरुद्धका गतिविधिमा संलग्न हुँदा विकासका लक्ष्य र उद्देश्य हासिल नहुने आशय उनले व्यक्त गरे । पाकिस्तानले विगतमा भारतसँग आर्थिक गतिविधि बढाएर दिल्लीको नीतिमा प्रभाव पार्न सकिन्थ्यो भन्दै विदेशमन्त्री जर्दारीले त्यसो हुन नसक्दा दुवै देश एकअर्काका चरम विरोधी बनेका निष्कर्ष सुनाए । उनले जम्मुकाश्मिरको विशेष दर्जा भारतले खारेज गरेकामा त्यसको आलोचना पनि गरे । भारतले सन् २०१९ मा जम्मु, काश्मिर र लद्दाख विभाजन गरेपछि पाकिस्तान र भारतबीचको सम्बन्ध नराम्ररी बिग्रिएको छ । त्यसयता कूटनीतिक गतिविधि ठप्प प्राय छन् भने द्विपक्षीय व्यापार पनि अवरुद्ध भएको छ । दुवै देशबीचको संवादहिनता अन्त्य भएको छैन । प्रधानमन्त्री सेहबाज सरिफले सरकारको नेतृत्व सम्हालेपछि गत अप्रिलको प्रारम्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर नयाँदिल्लीसँग शान्तिपूर्ण सम्बन्ध कायम गर्न र सबै समस्याको समाधान खोज्ने इच्छा व्यक्त गरेका थिए ।