रूसी नागरिक युक्रेन जाँदा भिसा लिनुपर्ने

शनिबार, असार ४, २०७९
Global Ime Bank

कीभ (युक्रेन) युक्रेनले रूसी नागरिकले युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका छन् । सन् १९९१ मा युक्रेन तत्कालीन सोभियत सङ्घबाट स्वतन्त्र हुँदा व्यवस्था गरिएको विनाभिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो । मस्कोले युक्रेनमा आक्रमण सुरू गरेको चार महिना पुगेको छ ।
“युक्रेनले रूसी सङ्घका नागरिकहरूका लागि भिसा व्यवस्था सुरु गरिरहेको छ,“ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत जानकारी गराए । उनले भने, “सरकारले सम्भवत ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्बजनिक गर्नेछ ।
जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रीय यर्माकले अनौपचारिकरूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए ।
उनले भने, “रूसले सुरु गरेको युद्धको कारण हामीले आफ्नो इलाकामा रूसी नागरिकको प्रवेशमाथिको नियन्त्रणलाई अझ प्रभावकारीे बनाउनु आवश्यक छ । सुरक्षा नै प्राथमिकता हो ।”
यी दुई छिमेकीहरूबीच करिब दुई हजार ३०० किलोमिटर लामो दुई देशीय सिमाना छ र उनीहरूबीच विस्तृतरूपमा पारिवारिक, सामाजिक तथा सांस्कृतिकरूपमा सम्बन्धहरू रहँदै आएका छन् ।
पूर्वी युक्रेनमा रूस निकट रहेका पृथकवादी र युक्रेन सरकारबीच सशस्त्र युद्ध भएको र मस्कोले सन् २०१४ मा क्राइमियन प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएपछि युक्रेनमा जाने रूसीहरूको सङ्ख्यामा तीव्र कमी आएको थियो ।
सन् २०१३ मा एक करोड ८० लाख रूसीहरूले युक्रेन भ्रमण गरेका थिए । तर त्यसको एक वर्षपछि त्यो सङ्ख्या घटेर २५ लाखमा झरेको युक्रेनका सीमा रक्षकहरूका प्रवक्ता एन्द्रे डेमचेन्कोले एएफपीलाई बताए ।
सन् २०२० र २०२१ सालमा कोभिड महामारीको थालनी हुँदा रुसी यात्रीहरूको सङ्ख्या वर्षमा पाँच लाखभन्दा बढी थिएनन् ।

पूर्वी युक्रेनमा मानवीय अवस्था ’अत्यन्तै डरलाग्दो’ :राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था “अत्यन्तै डरलाग्दो“ रहेको  भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ ।
“युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था – विशेष गरी पूर्वी डोनबासमा – अत्यन्तै डरलाग्दो छ । यो अवस्था  तीव्ररूपमा बिग्रँदै गएको छ,“ संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ ।

रूसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै

भ्लाडिभोस्टक ।रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ । विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले जनाएको छ ।
तालिममा प्यासिफिक फ्लीटका नौसेना र उड्डयन टोली बीच अन्तरक्रिया पनि हुनेछ । तालिम, जसमा कमाण्ड शिप मार्शल क्रिलोभ, फ्रिगेट मार्शल शापोश्निकोभ, कर्भेट्स र ठूलो एन्टि–सबमरिन जहाज एडमिरल प्यान्टेलिभ युद्ध जहाजहरू समावेश छन् । प्यासिफिक फ्लीटको योजनाबद्ध लडाइँ प्रशिक्षणको हिस्सा पनि हो ।– रासस–सिन्ह्वा

 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार