सोसल मिडिया
Contact Us
युनिकोड
सिङ्गापुर । कोभिड–१९ महामारीपछि तीन वर्षको अन्तरालमा यहाँ भएको तीनदिने साङ्ग्रिला डाइलग युक्रेन युद्ध र चीन–अमेरिकाबीचको तनावपूर्ण सम्बन्धकै सेरोफेरोमा केन्द्रित रहेर समापन भएको छ । हरेक वर्ष आयोजना हुने एसियाको प्रमुख सुरक्षा बैठकमा चीन–अमेरिका सम्बन्ध नै छलफलको केन्द्रमा रहने गरेको थियो । महामारीपछिको यो बैठकमा भने युक्रेन युद्धले पनि अधिक स्थान पाएको थियो । बैठकको अन्तिम दिन आज विशेष मन्तव्य व्यक्त गर्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले चीन–अमेरिका सम्बन्ध जटिल मोडमा पुगेको बताउँदै त्यसलाई सुधार गर्ने दायित्व अमेरिकामा निर्भर रहेको बताए । जनमुक्ति सेनाको पोशाक लगाएका उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र आफूहरूलाई गाली नगर्न अनुरोध गर्दै अमेरिकी पक्षले त्यसो गर्न नसके द्विपक्षीय सम्बन्धमा सुधार नहुने चेतावनी दिए । कूटनीतिज्ञ, प्रतिरक्षा अधिकारी, हतियार निर्मातासहित ४० देशका ५७५ प्रतिनिधिमाझ भएको बैठकमा श्रव्यदृश्यका माध्यमबाट आफ्नो धारणा व्यक्त गर्दै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशमाथि भएको रूसी आक्रमण विधिमा आधारित विश्व व्यवस्थालाई धम्की दिएको र त्यसले सम्पूर्ण विश्वलाई अनिकाल एवं खाद्यान्न सङ्कटतर्फ धकेलेको बताए । बैठकमा युक्रेनले आफ्नो गुमेको भूमि फिर्ता लिन किएभलाई पश्चिमा मुलुकबाट आधुनिक हतियार सहयोग हुनुपर्नेमा जोड दिएको थियो । अन्नपात निर्यातको योजना पनि आफ्नो देशले बनाइरहेको युक्रेनी राष्ट्रपतिले बताएका थिए । अधिकांश प्रतिनिधिहरूले रूस र चीनबीचको सम्बन्धका बारेमा प्रश्न उठाएका थिए । प्रत्युत्तरमा चिनियाँ रक्षामन्त्रीले आफ्नो देशले शान्तिवार्तालाई समर्थन गरेको र रूसलाई कुनै किसिमका हातहतियार वा सामग्री उपलब्ध नगराएको दाबी गर्दै हतियार दिने र प्रतिबन्ध लगाउँदैमा समस्याको समाधान नहुने तर्क गरेका थिए । “रूस चीनको साझेदार हो तर सहयोगी होइन,” चीन सधैँ आफ्नो राष्ट्रिय हित प्रवद्र्धनको नीतिलाई अङ्गिकार गरी अघि बढिरहेको स्पष्ट गर्दै उनले भने । बैठकमा रूसलाई भने आमन्त्रण गरिएको थिएन । “ताइवानसँग हामीले शान्तिपूर्ण पुनर्मिलन खोजेका हौँ तर अन्य विकल्पमा हाम्रो सहमति छैन,” ताइवान मामिलालाई लिएर चिनियाँ रक्षामन्त्रीले बेइजिङको औपचारिक धारणा स्पष्ट गरे ।
ताइवानका प्रधानमन्त्री सुत्सेङ चाङले बिनाराजनीनिक पूर्वसर्त र समानताका आधारमा चीनसँग आफूहरू सद्भावनाको भावनमा संलग्न हुन इच्छुक रहेको बताए ।
यसैबीच, रूसले युक्रेनमा गरिएको कारबाहीलाई विशेष भन्दै आफ्नो उद्देश्य देशको भूगोल विस्तार गर्नु नभई उसको ‘सैन्य क्षमता नष्ट गर्नु’ हो भनेको छ ।
अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप
चीनले अमेरिकामाथि अपहरणको शैलीमा एसिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लगाएको छ । चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वाशिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भड्काउन खाजेको आरोप लगाएका हुन् । साङ्ग्रिला डायलगको एक दिन अघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजनक आरोपको संज्ञा दिँदै खण्डन गरेका छन् । रक्षामन्त्री अस्टिनले इण्डो–प्यासेफिक क्षेत्रका राष्ट्रहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिएका थिए । जसलाई उनका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्न भनेका थिए । बहुपक्षीयताका आडमा अमेरिकाले धम्की दिएको उनको आशय थियो । इण्डो–प्यासेफिक रणनीति द्वन्द्व र टकराव सृजना गर्ने रणनीति भएको उनको टिप्पणी छ ।–एजेन्सीहरू