पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफ सिकिस्त

शनिबार, जेठ २८, २०७९
Global Ime Bank

इस्लामाबाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल पर्वेज मुसर्रफ अस्पताल भर्ना भएका छन् ।
पछिल्लो तीन हप्तादेखि दुबई स्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहे पनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।
उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरीरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ ।
मुसर्रफको ट्वीटर हेन्डलमै उनका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उनलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ । उनको अवस्थामा सुधार होस् भनेर आफूहरूले प्रार्थना गरिरहेको पनि उनका आफन्तले बताएका छन् ।
ट््वीटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन । उहाँको अवस्था गम्भीर छ । तत्काल सुधार हुने सम्भावना पनि छैन । उहाँका अधिकांश अङ्गले काम गरेका छैनन् । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ ।”
सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका मुसर्रफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो । सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्य सत्ता हातमा लिएका थिए । रासस÷एएनआई
राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा थपिए पाँच सदस्य
संयुक्त राष्ट्रसङ्घ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड निर्विरोध निर्वाचित भएका छन् । एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२  स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन् ।
विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ । रूसको भिटो शक्तिले परिषद्लाई उसलाई कारबाही गर्नबाट रोकेको छ । गत फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुवै देशका कूटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भए पनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ ।
परिषद्का कार्यसूचीमा युक्रेनबाहेकका सिरिया र यमनदेखि माली र म्यान्माका साथै उत्तर कोरिया तथा इरानबाट उत्पन्न आणविक जोखिमका अन्तर्राष्ट्रिय मुद्दा पनि छन् । इस्लामिक स्टेट र अलकायदाजस्ता चरमपन्थी समूहले सृजना गरेका चुनौती र आक्रमण साम्य पार्न परिषद्लाई कठिनाइ भइरहेको छ ।– रासस/एपी

 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार