एकीकृत समाजवादीका चार मन्त्रीको पद जोगियो 

बजटे छलफल नसकिँदासम्म मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय 
सोमबार, जेठ २३, २०७९

काठमाडौं । सत्ता गठबन्धनका शीष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 
तत्काल मन्त्री परिवर्तन नगर्ने केही समयपछि गर्ने भन्ने कुरा भएको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए । 
अहिले संसदमा बजेटबारे मन्त्रालयत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्री नपर्ने सहमति भएको उनको भनाइ छ । 
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । सोही आधारमा आइतबार मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । 
प्रधानमन्त्रीले बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नसकिने बताएका थिए । सोही आधारमा गठबन्धनमा तत्काल मन्त्री नफेर्ने सहमति जुटेको हो । 
समाजवादीले नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो । 
पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 
अब बजेट पारित नहुँदासम्मको लागि उनीहरूको पद जोगिने भएको छ । 
गठबन्धन दलको बैठक लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई बालुवाटारमा बोलाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । ‘प्रधानमन्त्रीले हामी चार जनालाई अझ राम्रो काम गर्नुस् भनेर निर्देशन दिनुभयो,’  श्रममन्त्री श्रेष्ठले भने ।
प्रधानमन्त्रीसँग कुराकानी भएलगत्तै एकीकृत समाजवादीका मन्त्रीहरुले पार्टी अध्यक्ष नेपाललाई पनि भेटेका छन् । अर्का एक मन्त्रीका अनुसार अध्यक्ष नेपालले मन्त्री फिर्ताको निर्णय गर्दा बजेटमाथि छलफल भइरहेको र जवाफ दिन बाँकी रहेको याद नभएको बताएका थिए । उनले बजेट छलफल टुंगिएपछि पार्टीमा छलफल गरेर निर्णय गर्ने वचन समेत दिएका छन् । एक मन्त्रीले भने, ‘के गर्ने भन्नुभएन । तर बजेट पास नहुँदासम्म केही हुन्न, यथावत काम गर्नुस् भन्ने निर्देशन भयो ।’
एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउनुका साथै शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम दिएको थियो ।

मन्त्रिपरिषद् ४ बजे

मन्त्री हेरफेर नगर्ने सहमति लगतै प्रधानमन्त्री देउवाले ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्वास्थ्यमन्त्री खतिवडा भन्छन्, ‘फिर्ता भएका छैनौं, त्यसैले आज क्याबिनेट बैठकमा जान्छौं ।’

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार