सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको टिकट लिएर निर्वाचित भएका पालिकाका जनप्रतिनिधिलाई नेपाली कांग्रेस ललितपुरले भव्य कार्यक्रम गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । नेपाली काँग्रेसका उपसपभाति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यमा ललितपुरको सातदोबाटोस्थित बेरी ब्याङक्वेटमा आइतबार आयोजित कार्यक्रममा बोल्ने वक्ताले काँग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन जनप्रतिनिधिले मतदातालाई नम्र भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । ललितपुर जिल्लामा रहेका ६ वटा पालिकमध्ये ४ प्रमुख, ३ उपप्रमुख र ३८ वडाअध्यक्ष निर्वाचित गरेको कांग्रेस पहिलो पार्टी बनेको छ । ललितपुर महानगरपालि, गोदावरी नगरपालिका, वाग्मती गाउँपालिका र महाङ्काल गाउँपालिकामा प्रमुख पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाको उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन् । छवटा पालिकाका ७१ वटा वडामध्ये ३८ नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षसहित १७२ जना जनप्रतिनिधिलाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् काँग्रेसका उपसभापति खड्काले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उमप्रमुख मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, बागमती गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चन, महांकाल गाउँपालिका अध्यक्ष गणेश केसी, कोञ्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेसहित वडाअध्यक्ष तथा सदस्यहरुलाई शुकामनासहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा काँग्रेसका उपसभापति खड्काले जनप्रतिनिधिले आफूलाई मतदाताको सेवक भएर प्रस्तुत हुन निर्देशन दिए । ‘तपाईहरूको व्यवहारले आगामी निर्वाचनको परिणामलाई प्रत्यक्ष प्रभाव पार्छ, त्यसैले आफू कहाँ सेवा लिन आउने जनतालाई नम्र भएर प्रस्तुत हुनुहोस् । हुने कामलाई सहजै गरिदिनुहोस्, नहुने रहेछ भने यो कारणले हुँदैन भनिदिनुहोस ।’ विगतमा जनप्रतिनिधिको कामको मूल्याङकन तथा नियमित अनुगमन गर्न नसक्नु पार्टीको कमजोरी भएको स्वीकार गर्दै उनले भने, ‘यो पाँच वर्षमा अनुगमन तथा मूल्याङ्कनलाई प्राथमिकता दिइनेछ ।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले टिकट वितरणसहित गठबन्धनमा सहभागी दलहरूको विश्वास जित्न सफल भएकै कारण ललितपुरका अन्य क्षेत्र भन्दा क्षेत्र नं १ का पालिकामा काँग्रेसले राम्रो सफलता पाएको दाबी गरे । अर्का केन्द्रीय सदस्य जीत जङग बस्नेतले जनप्रतिनिधिका कामले आगमी निर्वाचनको परिणामलाई प्रत्यक्ष प्रभाव पार्ने भन्दै सचेततापूर्वक काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए । उनले गठबन्धन काँंग्रेसको आवश्यकता भन्दा पनि देशको आवश्यकताका आधारमा बनेको भन्दै आगामी निर्वाचनसम्म गठबन्धन जरुरी भएको औंल्याए । कार्यक्रममा ललितपुर जिल्लाका काँग्रेस सभापति जितेन्द्र कुमार श्रेष्ठले ललितपुरमा कुल प्रतिनिधित्वको ५५ प्रतिशत जनप्रतिनिधि काँग्रेसका उम्मेदवार विजयी भएको बताउँदै आफ्नो नेतृत्वको कार्यसमिति सफल भएको जिकिर गरे । कार्यक्रममा केन्द्रीय सदस्य अम्विका बस्नेत तथा केन्द्रीय सदस्य उर्मिला केसीले पनि नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । नवनिर्वाचित जनप्रनिधिका तर्फबाट मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले टिकट वितरणमा केही त्रुटि हुँदा महानगरमा नेपाली कांग्रेसलाई थोरै क्षति भएको औंल्याउँदै आगामी दिनमा यस्ता त्रुटिहरू नदो¥याउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए । कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, बागमती प्रदेश सहसचिव ऋषिराम घिमिरेलगायतका नेताहरुको उपस्थिति थियो ।