स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको नेकपा एसको निष्कर्ष

प्रदेशस्तरीय रिपोर्टिङका लागि नेतालाई जिम्मेवारी प्रदान
शनिबार, जेठ २१, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ ।
शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ ।
नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो ।
स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलको सहयोग नभएको र यसले गठबन्धनलाई अगाडि बढाउन निर्मम समीक्षा गर्नुपर्ने देखिएको बताए । वामपन्थी एकताका बारेमा जनमत रहे पनि शीर्ष नेताहरू सहमत नहुँदा समस्या भएको उनको भनाइ छ ।

प्रदेशस्तरीय रिपोर्टिङका लागि नेतालाई जिम्मेवारी प्रदान

नेकपा (एकीकृत समजवादी) ले सङ्गठनको प्रदेशस्तरीय गतिविधिलाई रिपोर्टिङका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ ।  पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रदेश नं १ का लागि उपाध्यक्ष जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा उपमहासचिव गङ्गालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष प्रमेश हमाल, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णालीमा सचिव प्रकाश ज्वाला र सुदूरपश्चिममा डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको केन्द्रीय प्रचार विभाग सदस्य लेखनाथ सिकारुले राससलाई जानकारी दिए । बैठकले जिम्मेवारी प्राप्त गरेका नेताहरूले पाँच दिनभित्र प्रदेशस्तरीय गतिविधिको अध्ययन गरी केन्द्रलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।
पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा भएको बैठक समसामयिक राजनीतिक अवस्थाको समीक्षा र गहन कार्ययोजना प्रस्तुत गर्न भोलि आइतबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।

कर्णालीको गाउँ–गाउँ र बस्तीमा पुग्ने दुई महिने अभियान

पार्टीलाई सुदृढीकरण गर्नका लागि एकीकृत समाजवादी कर्णालीका बस्ती–बस्तीमा पुग्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका प्रत्येक बस्ती तथा जनस्तरमा पुग्न समाजवादीले दुईमहिने अभियानको सञ्चालन गर्ने भएको छ ।
बिहीबार र शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको पार्टीको कर्णाली प्रदेशको तेस्रो पूर्ण बैठकले गाउँ बस्ती केन्द्रित भएर अघि बढ्ने निर्णय गरेको छ । पार्टीमा आवद्ध सबै नेता कार्यकर्तालाई पार्टीको साङ्गठनिक, राजनीतिक कामलाई तीव्ररूपमा अगाडि बढाउँदै जनस्तरसम्म पुग्न अभियानका साथ अघि बढ्ने बैठकले निर्णय गरेको हो ।
पार्टीको दुई महिने अभियानमा सङ्गठनको सुदृढीकरणसम्बन्धी क्रियाकलाप सञ्चालन हुनेछन् । “दुई दिनसम्म सञ्चालन भएको बैठकमा पार्टीलाई जनस्तरसम्म पु¥याउने र बलियो बनाउने विषयमा छलफल भएको थियो”, समाजवादीका सुर्खेतका जिल्ला अध्यक्ष मोहन बडुवालले भने,  “आगामी निर्वाचनहरूमा अन्य दलहरूसँग तालमेल नगरिकनै सिङ्गलरूपमा पनि अगाडि बढ्न सक्ने गरेर पनि तयारी गरिनेछ ।”
अभियानका साथ प्रदेशका प्रत्येक बस्तीको तहसम्म जनस्तरमा पुग्ने गरी पार्टीका नेता र कार्यकर्ताहरूलाई निर्देशन दिइएको छ । यसका साथै बैठकमा विभिन्न साङ्गठनिक, राजनीतिक तथा समसामयिक प्रस्तावमाथि छलफल भएको बडुवालले जानकारी दिए । जसअन्तर्गत विकास निर्माणमा हुने गरेका ढिलासुस्ती,  विकास बजेट समयमै खर्च नहुने प्रवृत्तिका विषयमा छलफल गरिनुका साथै यसलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा पार्टीका केन्द्रीय कमिटीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीति, नेपाल सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम, स्थानीय तहको निर्वाचनमा पार्टीले खेलेको भूमिका तथा त्यसको परिणाम र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा प्रशिक्षण दिएको नेता बडुवालले जानकारी दिए ।
“विशेष गरेर बैठकको मुख्य उद्देश्य भनेको स्थानीय तहको निर्वाचनको समीक्षा र निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन रहेको थियो”, बडुवालले भने, “निर्वाचनमा भएका सफलता, असफलता तथा चुनौतीका विषयमा छलफल गरियो ।”

 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार