सोसल मिडिया
Contact Us
युनिकोड
सिड्नी, १५ जेठ । भानुआतुमा जलवायु परिवर्तनका असरलाई कम गर्न आपतकाल घोषणा गरिएको छ । सरकारले आपतकाल घोषणा गर्दै त्यसको न्युनिकरणका लागि काम गर्न एक अर्ब २० करोड अमेरिकी डलर रकम पनि छुट्याएको छ । भानुआतुमा पछिल्लो दशकमा विषेश गरेर समुद्री आँधी र खडेरी मुख्य दुई समस्या अत्यधिक भोगेकाले पनि जलवायु आपतकाल घोषणा गर्न सरकार अग्रसर भएको हो । यस्ता असर थप बढ्न नदिन र घटाउदै लैजानका लागि देशमा जलवायु सङ्कटकाल घोषणा गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री बोब लौघमानले राखेका थिए । उनले समुद्रको सतह बढ्नु, मौसमी खरावी देखिनुलगायतका असर पनि देखिन थालेकाले जलवायु परिवर्तनका असर कम गर्नुपर्नेमा जोड दिएका थिए । जलवायु परिवर्तन न्युनिकरणका लागि सङ्कटकाल घोषणा गर्ने र बजेट छुट्याउने प्रधानमन्त्रीको प्रस्तावलाई संसदले शुक्रबार पारित पनि गरेको छ ।
पहिरोमा परी चीनमा आठ जनाको मृत्यु
चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । पहिरोका कारण मानिस बसेको दुई ओटा घर भत्कीएपछि त्यहाँ रहेका मानिसको मृत्यु भएको अधिकारीले जनाएका छन् । देशको पूर्वीक्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको वुपिङमा शुक्रबार पहिरो गएको समाचारमा जनाइएको छ । उनीहरुले शनिबार दिएको जानकारीअनुसार बिहीबार रातिदेखि अत्यधिक वर्षा भएको र त्यसपछि पहिरोले घर भत्काएको थियो । पहिरोका कारण घर भत्कीएर मृत्यु भएकामध्ये पाँच जनाको उद्योग रहेको भवनमा र तीन जनाको आवासीय भवनमा मृत्यु भएको हो । पहिरोका कारण अन्य भौतिक संरचनासमेतमा ठूलो क्षति पुगेको छ । घटनास्थलमा खटिएका उद्धारकर्ताले पहिरोका कारण त्यस क्षेत्रको यातायात, विद्युत र सञ्चार सेवा अवरुद्ध भएको जनाएका छन् । ती सेवा अवरुद्ध हुँदा नौ हजार ७०० भन्दा बढीलाई असर परेको छ भने एक हजार ६०० भन्दाबढी विस्थापित भएका छन् ।– रासस/सिन्ह्वा