चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल

आइतबार, जेठ १५, २०७९
Global Ime Bank

संयुक्त राष्ट्रसङ्घ, १५ जेठ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् ।
चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियामा सुरक्षा परिषद्का प्रस्तावलाई व्यापक, पूर्ण र सहीरूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै सम्वन्धित देशले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने चीनको अभिमत व्यक्त गरे ।
समस्याको राजनीतिक समाधान खोजिनुपर्ने, हालको अवस्थामा, प्योङयाङविरुद्ध थप प्रतिबन्धले समस्या समाधानमा मद्दत नगर्ने बरु थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउने राजदूत झाङले बताए । कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धले ठूलो मानवीय प्रभाव पार्ने उनले उल्लेख गरे ।

चीनले परिषद्को एकता र सहयोगलाई ठूलो महत्त्व दिन्छ, वर्तमान परिस्थितिमा परिषद्ले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वमा बाधा पु¥याउने विषयमाथि विमर्श हुनुपर्ने तथा उत्तर कोरियाका जनताले सामना गरिरहेका जीविकोपार्जनका समस्याका बारेमा चिन्तित हुनुपर्नेमा उनले जोड दिए ।
प्रायःद्वीपको अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै राजदूत झाङले चीनले फेरि पनि सबै पक्षलाई शान्त र संयमित हुन आह्वान गरेको र अमेरिकी पक्षलाई उत्तर कोरियाप्रतिको आफ्नो नीतिमा लाई गम्भीर भएर चिन्तन गर्न आह्वान गर्नुभयो । साथै उहाँले वार्ता पुनःसुरु गर्नका लागि वातावरण बनाउन आग्रह गरे ।
चीनले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम गर्न र आणविक निःशस्त्रीकरणलाई साकार पार्न रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँचवटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ ।

प्रस्तावित विश्वव्यापी सुरक्षा प्रयासको स्वागत

पाकिस्तानले चीनको प्रस्तावित विश्वव्यापी सुरक्षा प्रयास (ग्लोबल सेक्युरिटी इनिसिएटिभ, जिएसआई)को स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका सिद्धान्तलाई मूल आधार बनाएर चिनियाँ नेतृत्वले प्रस्ताव गरेको (जिएसआई)लाई  पाकिस्तानी विदेश मन्त्रालयले स्वागत गरेको हो ।
जिएसआई संयुक्त राष्ट्रसङ्घको बडापत्र, राज्यको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान, बहुपक्षीयता, विवादको शान्तिपूर्ण समाधान र सुरक्षा हितका सन्दर्भमा देशको समानतामा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता असिम इफ्तिखार अहमदले बताएका छन् ।
जिएसआईले साझा, विस्तृत, सहकार्यात्यमक एवम् दिगो सुरक्षाको दृष्टि बोकेको त्यसले सहकार्य, समन्वय–सञ्चालित दृष्टिकोणको पैरवी गरेको तथा शक्ति प्रतिस्पर्धा, हतियारको होडवाजी र युद्धको दौडको माध्यमबाट सुरक्षा मानसिकतालाई प्रतिस्थापन गरेको प्रवक्ताले जनाएका छन् ।
“यो समसामयिक विश्वव्यापी वास्तविकताको सामना गर्न समयसापेक्ष आह्वान हो जहाँ अन्तरराष्ट्रिय समुदायले परम्परागत र गैर–परम्परागत जोखिमको सामना गर्दछ जुन अन्तरराष्ट्रिय र क्षेत्रीय सुरक्षातर्फ समग्र दृष्टिकोण आवश्यक छ,” जिएसआईले जलवायु परिवर्तन, जनस्वास्थ्य, पानी, ऊर्जा र खाद्य सुरक्षाजस्ता साझा चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतालाई मान्यता दिएको उल्लेख गर्दै शुक्रबारको साप्ताहिक संवाददाता सम्मेलनमा उनले भने । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार