सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौैं । भारत सरकारले अकस्मात कोभिशील्डको निकासीमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णपछि नेपालमा खोप आपूर्तिको विषयमा अन्योल श्रृजना भएको छ । नेपालले किनेको कोभिड खोप उपलब्ध गराउन केही सातादेखि सीरम इन्स्टिट्यूट अफ इन्डियाले आनाकानी गरिरहेको थियो । भारतको यो निर्णयबाट कोरोनाभाइरसविरुद्ध सुरु गरिएको खोप अभियान प्रभावित हुने देखिएको छ । प्रतिडोज चार डलरमा किनिएको २० लाख मात्रामध्ये आधा पठाइसकेको कम्पनीले नेपाल सरकारलाई कोभिशील्ड खोपको बाँकी १० लाख मात्रा आपूर्ति गर्न बाँकी छ ।
खोप वितरणमा कस्तो अप्ठेरो ? नेपालले हालसम्म भारत सरकारबाट अनुदानमा पाएको १० लाख मात्राको खोप, कोभ्याक्स सुविधाअन्तर्गत पाएको झन्डै साढे तीन लाख मात्रा अनि खरिद गरेकोमध्ये प्राप्त १० लाख मात्रा पाइसकेको छ । प्रारम्भिक चरणमा स्वास्थ्य तथा सफाइ कर्मचारीसहित अग्रपङ्क्तिका अनि त्यसपछि ६५ वर्षमाथिका उमेर समूहका मानिसहरू गरी हालसम्म करिब १७ लाख मात्रा वितरण भइसकेको छ । ‘अब हामीसँग प्रारम्भिक चरणमा पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन त खोप पुग्छ । तर आउनुपर्ने खोप आएन भने बाँकी वितरणमा अप्ठेरो पर्छ नै’, कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक श्यामराज उप्रेतीले भने । अन्तर्राष्ट्रिय खोप सहायता सञ्जाल कोभ्याक्समार्फत आउन बाँकी १९ लाख खोप मे महिनामा आएमा ६५ वर्षभन्दा माथिका मानिसलाई पनि दोस्रो मात्रा दिन सकिने उनले आशा व्यक्त गरेका छन् ।
कोभिशील्डबाहेक अरू विकल्प कस्ता ? संसारमा अहिले आधा दर्जनभन्दा धेरै किसिमका खोपहरू बजारमा आइसकेका छन् । तर कतिपय खोप धेरै चिसो तापक्रममा भण्डारण गर्नुपर्ने हुँदा नेपाललाई अनुपयुक्त देखिएको छ भने कतिपय खोपको मूल्य अत्यधिक छ । औषधि व्यवस्था विभागले कोभिशिल्डबाहेक भारत बायोटेक कम्पनीको कोभ्याक्सीन अनि चिनियाँ सिनोफार्म खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ । तर ती दुई खोपको मूल्य निकै चर्काे रहेको उप्रेतीले बताए । ‘अहिले लगाइरहेको कोभिशील्ड सुरुमा भारतले अनुदानमा अनि पछि नेपाल सरकारले प्रतिमात्रा चार डलर तिरेर किनेको हो । तर कोभ्याक्सीनको प्रतिमात्रा १६ डलर तथा सिनोफार्म खोपको प्रतिमात्रा ३० डलर पर्छ । ती खोपको मूल्य सरकारलाई धेरै भयो’, उनले भने । ती दुवै खोप दुई मात्रा लगाउनुपर्ने खालका हुन् । सिनोफार्मको आठ लाख मात्रा चीन सरकारले अनुदानमा दिने भनेकाले त्यति चाहिँ अर्काे साता ल्याउने चाँजोपाँजो मिलाइँदैछ । तिनलाई पनि जोखिम समूहहरूलाई हेरेर लगाइदिने सरकारको योजना छ ।
भारतले किन लगायो रोक ? भारतको विदेश मन्त्रालय स्रोतले बीबीसीलाई बुधवार बताएअनुसार अक्सफोर्ड–अस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि उसले अस्थायी रोक लगाएको छ । भारतभित्रै कोभिड भएका मानिसको संख्या बढ्न थालेको साथै त्यहाँ एप्रिल १ तारिखदेखि ४५ वर्षभन्दा माथिका मानिसलाई खोप लगाइने भएकाले घरेलु माग धान्न धेरै खोप भारतमै आवश्यक पर्ने बताइएको छ । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ । यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्न सक्ने सम्भावना छ ।