लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित

मंगलबार, वैशाख २०, २०७९

रुपन्देही, २० वैशाख । लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न आज बोलाइएका थियो । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पहिलो सत्रमा अवरुद्ध गरी दोस्रो सत्रमा बहिष्कार गरेको १०औँ अधिवेशनको दोस्रो बैठक स्थानीय तहको निर्वाचन परिणाम आएपछि बस्नेछ । प्रदेशसभाका सदस्यहरू निर्वाचनमा व्यस्त रहने हुनाले निर्वाचन परिणामपछि बोलाइएको हो ।  
प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा आफूहरूले राखेका माग सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताए । उनले बोलेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि पहिलो सत्रको बैठक स्थगित भएको थियो ।
एमालेले नाराबाजी जारी राखेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका  थिए । दोस्रो सत्रको बैठकमा पनि एमालेका सदस्यहरूले  बहिष्कार गरेका थिए ।
राष्ट्रिय जनमोर्चाका तारा जिसीले प्रदेश सरकारले आफ्नो औचित्य कायम गर्न नसकेको बताए । प्रदेशसभामा प्रदेश खेलकुद विकास परिषद्सम्बन्धी अध्यादेश, २०७८ पेस भएको छ ।
सो बैठकमा सभामुख घर्तीले प्रदेशसभा सदस्य दीपेश थारूले बुझाएको राजीनामा पत्र पढेर सुनाएका थिए । थारूले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट बर्दियाको राजापुर नगरपालिकामा प्रमुखका पदमा उम्मेदवारी दिएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  २२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार