सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइलाई भाइटीका लगाइदिने उद्देश्यले अञ्जली दिदीले सुरु गरेको सामूहिक भाइटीकाको परम्परा २८ वर्षमा प्रवेश गरेको छ । काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा उनले हरेक वर्ष दाजुभाइलाई भाइटीका लगाउँदै आएकी छन् । भाइटीकाको अवसरमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा अञ्जली दिदीले भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई स्नेह, माया र ममता बाँड्न पाऊँ भन्ने उद्देश्यले सामूहिक भाइटीका सुरु गरेको बताइन् । ‘भगवानको आशीर्वाद हो । भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई भाइटीका गरेर स्नेह, माया, ममता सबैलाई दिन पाऊँ भनेर मैले जुन उद्देश्यले गरेको थिएँ, भगवानकै आशीर्वादले यो काम गर्न सकेँ,’ उनले भनिन् । उनका अनुसार सुरुमा १०८ जना दाजुभाइलाई भाइटीका लगाउने सोचका साथ यो परम्परा सुरु गरिएको थियो । दोस्रो वर्षदेखि सहभागीको संख्या बढ्दै गएपछि २०८ जनाका लागि सगुनलगायतका सामग्री तयार गर्न थालिएको उनले बताइन् । २८ वर्षको अवधिमा ८० वर्षदेखि १०१ वर्षसम्मका ज्येष्ठ नागरिकसमेत भाइटीका लगाउन आएको अनुभव उनले सुनाइन् । पहिले आउने कतिपय दाजुभाइ अहिले नरहे पनि नयाँ पुस्ताका दाजुभाइको सहभागिता र उत्साह देखेर आफूलाई खुसी लाग्ने गरेको उनको भनाइ छ । ‘पहिलेभन्दा अहिले झन् बढी उत्साह भएर आउनुभएको जस्तो लाग्छ। जति पनि २५–२८ वर्षदेखि आउनुभएको छ, उहाँहरूमध्ये कतिपय अहिले हुनुहुन्न । तर उहाँहरूसँगै नयाँ दाजुभाइ पनि उत्साहित भएर आउनुभएको देख्दा खुसी लाग्छ,’ उनले भनिन् । सामूहिक भाइटीकाको २५ वर्ष पूरा भएको अवसरमा आफूले २५ वर्षदेखि निरन्तर भाइटीका लगाउन आउने पाँच जना दाजुभाइलाई विशेष सम्मान गरेको पनि उनले बताइन् । त्यस अवसरमा शिव मन्दिरमा उनीहरूलाई उभ्याएर सम्मानस्वरूप भाइटीका लगाइएको थियो । अञ्जली दिदीका अनुसार कतिपय दाजुभाइ कुनै कारणले भाइटीका लगाउन आउन नसके फोन गरेर सम्झिने गर्छन् । कोही मन्दिरमा आउन नसके घरमै पुग्ने गरेको उनले सुनाइन् । ‘दाजुभाइहरूले यति धेरै माया दिनुहुन्छ भन्ने मैले सोचेकी थिइनँ। हामीले उहाँहरूलाई जति माया र श्रद्धा गर्यौँ, उहाँहरूले पनि हामीलाई त्यति नै माया गर्नुहुँदो रहेछ। यही स्नेह र ममताले मलाई झन् हौसला दिएको छ,’ उनले भनिन् । यो परम्परालाई निरन्तरता दिन परिवार, दिदीबहिनीका सन्तान तथा सञ्चारमाध्यमबाट समेत सहयोग पाएको उनले बताइन्। परिवारको साथ र दाजुभाइको मायाले आफूलाई कामप्रति निराश हुन नदिएको उनको भनाइ छ । आफ्नो उमेर र स्वास्थ्यले साथ दिएसम्म सामूहिक भाइटीकालाई निरन्तरता दिने उनको चाहना छ। ‘जब भगवानले साथ दिनुहुन्छ, त्यतिबेलासम्म म गर्दै जान्छु । सकेसम्म आफ्नै हातले टीका लगाउँछु। उभिन नसके कुर्सीमा बसेर भए पनि दाजुभाइलाई टीका लगाउने इच्छा छ,’ उनले भनिन् । उनले भाइटीका लगाउन आउने सबै दाजुभाइलाई दिदीको आशीर्वाद र भगवान्को कृपा सधैँ रहिरहोस् भन्दै सुखी र खुसी जीवनको कामनासमेत गरेकी छन् ।