पोथी खोज्दै ३,००० किलोमिटरको यात्रामा बाघ

बिहीबार, मंसिर ४, २०७७

नयाँदिल्ली । भारतमा अभिलेख राखिएको मध्ये सबैभन्दा लामो यात्रा गरेको बाघ एउटा संरक्षित क्षेत्रमा अहिले एक्लै बसिरहेको छ । वन्यजन्तु अधिकारीहरूले ‘वाकर’ नाम दिएको साढे तीन वर्षको भाले बाघले भारतको महाराष्ट्रको आरक्ष अघिल्लो वर्षको जुनमा छाडेको थियो । शिकार, बासस्थान वा पोथीको खोजीमा आरक्ष छोडेपछि उपकरणजडित उक्त बाघले करिब ३,००० किलोमिटर यात्रा गर्ने क्रममा महाराष्ट्र र तेलङ्गना राज्यका सातवटा जिल्ला प्रवेश गरेको थियो । मार्च महिनामा महाराष्ट्रकै अर्को संरक्षण क्षेत्रमा बसेको बाघबाट अधिकारीले निगरानी गर्न प्रयोग गरिने उपकरण गएको अप्रिलमा हटाएका थिए ।

पोथीको खोजी
ज्ञानगंगा संरक्षण क्षेत्रमा चितुवा, मृग र निलगाइजस्ता जनावरको बसोबास छ । त्यहाँ वाकर एकमात्रै बाघ रहेको वन्यजन्तु अधिकारीहरू बताउँछन् । ‘उसलाई भूगोलको चिन्ता छैन । र उसँग पर्याप्त आहारा छ’, महाराष्ट्रका वरिष्ठ वन अधिकारी नितिन काकोडकर भन्छन् ।
अहिले वन्यजन्तु अधिकारीले वाकरलाई साथी हुने गरी एउटा पोथी बाघ स्थानान्तरण गरेर ल्याउने विचार गरिरहेका छन् । त्यस्तो कदम अभूतपूर्व हुनसक्ने टिप्पणी गरिएको छ । बाघ एक्लै बस्ने जनावर हैन र उनीहरूले प्राकृतिक रूपमा नै साथी खोज्ने गरेको बताइन्छ । तर अर्को बाघलाई त्यहाँ ल्याउने निर्णय भने सहज छैन । काकोडकर भन्छन्, ‘यो ठूलो संरक्षण क्षेत्र होइन । खेत र नष्ट भइसकेको जंगल क्षेत्रबाट घेरिएको छ र यदि वाकरले यहाँ सन्तान जन्मायो भने आहाराका लागि दबाव बढ्छ र नयाँ जन्मिएका बाघहरू अरू ठाउँमा सर्ने प्रयास गर्छन् ।’
विश्वमा बाँकी रहेका लगभग ३,००० बाघमध्ये मध्ये ७० प्रतिशत बाघ भारतमा पाइन्छ । बाघको संख्या बढेपनि उनीहरूको प्राकृतिक वासस्थान र आहारा सिमित हुँदै गएको विज्ञहरूले बताउने गरेका छन् । विज्ञहरूले प्रत्येक बाघका लागि खानेकुरा आपूर्ति गरिरहन उसको बसोबास रहेको भूगोलमा सन्तान जन्माइरहने शिकार प्रजातिका ५०० जनावर रहनुपर्ने बताउँछन् ।

निरन्तर निगरानी
अघिल्लो वर्षको फेब्रुअरी महिनामा उपकरण जडान गरिएपछि वाकरले बर्खा याम सुरु नहुँदासम्म उपयुक्त वासको खोजीमा घुम्दै हिँडेको थियो । वन्यजन्तु अधिकारीहरूले जीपीसी प्रणालीबाट प्रत्येक घण्टा उक्त बाघको निगरानी गरिएको र त्यस क्रममा त्यो बाघ ५,००० भन्दा बढी ठाउँमा पुगेको पाइएको जनाएका छन् ।
जाडो र गर्मी यामको अधिकांश समयमा उक्त बाघले खेत, खोला र नदी अनि मुख्य राजमार्गमा ओहोरदोहोर गरिरहेको पाइएको थियो ।
महाराष्ट्रमा जाडोमा कपास रोप्ने गरिन्छ र अग्लो कपासले उक्त बाघलाई खेतमा लुक्न र हिँड्न मद्दत गरेको थियो ।
अधिकांश अवस्थामा रातको समयमा हिँडेको उक्त बाघले बँदेल र घरपालुवा जनावरलाई शिकार बनाएको थियो ।
एकपटक बाघको पैतला पछ्याउँदै आएका एक व्यक्ति उक्त बाघको आक्रमणमा परे पनि सामान्य चोटपटक लिएर भागेका थिए ।
भारतको वाइल्डलाइफ इन्स्टिच्यूट अफ इण्डियाका वरिष्ठ वन्यजन्तु विज्ञ डा. बिलाल हबिबले उक्त जनवारको लामो यात्राले विकास र बढ्दो मानव जनसंख्या माझ अझै पनि ग्रामीण महाराष्ट्रमा बाघहरूका खुला रूपमा हिँडडुल गर्ने वातावरण रहेको देखाएको बताएका छन् । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार