निष्पक्षरूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

आइतबार, फागुन ८, २०७८

भक्तपुर, ७ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्षरूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । 
सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए । एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिए । 
उनले सत्ता गठबन्धनले एमसिसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको जिकीर गरे । एमाले नेतृत्वको सरकारमा एमसिसी संसद्मा पेश गर्न खोज्दा नदिएको सुनाउँदै ओलीले भने, “हामीले सरकारमा रहँदा संसद्मा एमसिसी पेश गरौँ भनेका थियौँ, संसद्ले नै निर्णय गर्छ, संसद्मा हामीले छानेर पठाएका जनप्रनिधिले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पु¥याइदिऔँ भन्दा उनीहरूले संसद्मा पु¥याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पु¥याउन सकेका छैनन् ।”
एमाले अध्यक्ष ओलीले एमालेका नेता, कार्यकर्तालाई झुक्याएर लाने गरेको बताउँदै पार्टी छाडेर गएकाहरूलाई एमालेमै फर्कनसमेत आह्वान गर्नुभयो । चुनाव पछाडि धकल्न कोशिस गरे पनि आफ्नो पार्टीले निर्वाचन जित्ने दाबी गर्दै ओलीले भने, “जति नै चुनाव पछाडि सार्न खोजे पनि अबको एक वर्षभित्र हुने सङ्घीय संसद्को चुनावपछि एमालेले फेरि सरकार चलाउँछ ।” कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले भक्तपुरमा विकासले फड्को मारेको दाबी गरे । 

निर्वाचन नराउन महाअभियोग प्रस्ताव दर्ता गरिएको आरोप

नेकपा(एमाले)का महासचिव शङ्कर पोख्रेलले शसमयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् । एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटनका लागि सर्लाही आउनुभएका महासचिव पोख्रेलले एमालेको दबाबका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको आशङ्का गरे । 
एमाले सरकारले गरेका विकास निर्माणका गतिविधि देखेर जनता एमालेप्रति आकर्षित भएको समयमा एमालेको दबाबमा वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिए । महासचिव पोख्रेलले मधेशमा  कम्युनिष्ट पार्टी चिनाउने काम नेकपा (एमाले)ले गरेको दाबी गर्नुभयो । उहाँले अघिल्लो निर्वाचनमा तत्कालीन प्रदेश नं २ अहिलेको मधेस प्रदेशमा निर्वाचनको प्रचार–प्रसार गर्न नपाउँदा पनि आफूहरूले ४० प्रतिशत स्थानीय निकायमा जित हासिल गरेको भन्दै आगामी निर्वाचनमा मधेस प्रदेशमा एमालेले बहुमत ल्याउने दाबी गरे । 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार