चीनमा बाढी र पहिरोको वितण्डा

नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित

बुधबार, भदौ १०, २०८३

केरुङ । दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल जोड्ने प्रमुख व्यापारिक स्थल मार्ग जिरोङ (केरुङ) बन्दरगाहमा लेदोसहितको भीषण पहिरो खसेको छ भने दक्षिण चीनको गुआङ्सीमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । पहिरोका कारण जिरोङ क्षेत्रमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । सिगात्से सहरअन्तर्गतको जिरोङ काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोले बन्दरगाह जोड्ने सडक, सञ्चार तथा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प पारेको छ । सार्वजनिक ड्रोन फुटेजमा बन्दरगाहका केही भौतिक संरचनाहरू पुरिएको देखिएको छ । घटनालगत्तै चिनियाँ जनसशस्त्र प्रहरी बल र सिजाङ सैन्य कमान्डअन्तर्गतको सिगात्से सैन्य उप–कमान्डका उद्धार टोलीहरू राहत सामग्री (खाद्यान्न, पानी, टेन्ट र औषधि) तथा इन्जिनियरिङ मेसिनरीसहित परिचालन भएका छन् । यसैबीच, ‘चाइना अनेङ ग्रुप’ले बेइजिङ, ल्हासा, छेन्दु र छोङछिङबाट भू–विज्ञान तथा इन्जिनियरिङ विज्ञसहित २०० जनाको पहिलो उद्धार टोली खटाएको छ । उक्त टोलीले बहु–कार्यात्मक रेकनाइसेन्स (निरीक्षण) ड्रोन, थ्री–डी लेजर स्क्यानर, जीवन पत्ता लगाउने उपकरण र १२० थान ठूला इन्जिनियरिङ मेसिनरी प्रयोग गरी बेपत्ताको खोजी तथा जोखिम न्यूनीकरणको काम अघि बढाएको छ । थप १०० जनाको टोलीलाई जुनसुकै बेला परिचालन गर्न सकिने गरी ‘स्ट्यान्डबाइ’ राखिएको छ ।

गुआङ्सीमा दशकयताकै खराब बाढी, २२ हजार नागरिक सुरक्षित स्थानमा

उता, दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित निङमिङ काउन्टीमा लगातारको मुसलधारे वर्षापछि मिङजियाङ नदीको बहाव बस्ती पस्दा भीषण बाढी आएको छ । बाढीले सडक, खेतबारी र बस्तीहरू डुबानमा पारेपछि जनजीवन प्रभावित बनेको छ । स्थानीय ‘पूर्वी एसिया चिनी समूह’को कारखानामा उपकरण जोगाउन गएका १०५ जना कामदार रातारात पानीको बहाव बढेपछि भित्रै फसेका थिए । स्थानीय प्रशासनका अनुसार बुधबारसम्म ५५ जना कामदारको सकुशल उद्धार भइसकेको छ । कारखाना परिसरलाई अस्थायी कमाण्ड पोस्ट बनाएर अग्निनियन्त्रक, सशस्त्र प्रहरी, ‘ब्लु स्काई’ र ‘ईगल’ रेस्क्यु टोली परिचालन गरिएको छ । काउन्टीभरि १५ वटा डुङ्गा र ८६ जना उद्धारकर्मी खटाएर जोखिममा परेकाहरूको उद्धार भइरहेको छ । बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले हालसम्म २२ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ ।-एजेन्सी

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार