सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर, ७ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका लागि पाँच वटा भवनलगायत आवश्यक पूर्वाधार निर्माण गरी आजदेखि अस्पताल सञ्चालनमा ल्याएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । अरनिको राजमार्गसँगै जोडिएको नगरपालिकाको वडा नं ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल निर्माण समितिका संयोजकसमेत रहेका वडा नं ८ का वडाध्यक्ष किरण थापाले अस्पतालमा आजैदेखि बिरामी राखेर उपचार गरी सेवा सुरु गरिने बताए । अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रेलगायत आवश्यक सबै सेवा दिने गरी व्यवस्थापन गरेका छौँ, अस्पतालमा नयाँ तथा आधुनिक प्रविधि जडान गरेका छौँ” थापाले भने । नगरपालिकाले दधिकोटस्थित नगर अस्पतालमा रहेका चिकित्सकसहितको टोली, विभिन्न वडामा रहेका स्वास्थ्य चौकीका अतिरिक्त स्वास्थ्यकर्मी, नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गरेको जानकारी दिँदै उहाँले अहोरात्र खटिएर अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताए । संयोजक थापाले भने, “अस्पतालमा २४सै घण्टा सेवा सञ्चालन हुन्छ, अरनिको राजमार्गसँगै जोडिएको हुनाले सूर्यविनायक नगरवासीका साथै भक्तपुर जिल्ला र काभ्रेपलाञ्चोक, सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेकाकोसमेत छिटो, सहज एवं सुलभ उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याएका छौँ, यो अस्पताललाई अझै बिस्तार र अत्याधुनिक बनाउने हाम्रो योजना रहेको छ ।” एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले देशभर ३९६ वटा अस्पतालको एकैपटक शिलान्यास गर्दा शिलान्यास गरिएको यस अस्पतालमा नगरपालिका र सांसद महेश बस्नेतको सांसद विकास कोषको रकमबाट अस्पताल सञ्चालनमा ल्याइएको हो । नगरपालिकाको रु आठ करोड र सांसद विकास कोषको रु ७५ लाख लागनीमा भवन निर्माण गरी सुरु भएको अस्पताल अहिले २५ शय्याको रहेकामा आगामी दिनमा प्रदेश सरकारसँग शय्या थपको स्वीकृति लिएर ५० शय्या हुँदै १०० शय्यासम्म पु¥याउने लक्ष्य रहेको वडाध्यक्ष एवं संयोजक थापाले बताए । उनले भने, “प्रतिनिधिसभाका सांसद महेश बस्नेतलको विशेष पहलमा यो अस्पताल सञ्चालनमा ल्याउन सफल भएका छौँ, हामी जनप्रतिनिधि भएर आएपछिका सपना पूरा गरेका छौँ, अब यस अस्पताललाई स्थानीय तहमध्येको उत्कृष्ट अस्पताल बनाएर सबैलाई गुणस्तरीय र सुलभ सेवा दिने जिम्मेवारी हामी पूरा गर्नेछौँ ।” कोरोनाका बिरामीलाई समेत उपचार गर्नेे उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउने भएको छ ।–रासस