सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो । कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि शुक्रबार पुनः बस्ने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्र्कषमा नटुङ्गिएकाले पुनः छलफल गर्न भोलि बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको हो । आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए। “सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्नेगरी आजको बैठक समाप्त भएको छ”, मन्त्री कार्कीले भने । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेको मन्त्री कार्कीले जानकारी दिए। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता हिजो बुधबार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । भोलिको बैठकमा एमसिसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उनको अभिमत थियो । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, कांग्रेसका महामन्त्री गगनकुमार थापा, सोही पार्टीका नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का सहभागी थिए । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालबाट बाबुराम भट्टराई बैठकमा उपस्थित थिए ।