निर्भिक र विराट प्रतिभाका धनी डा. तारानाथ 

मंगलबार, फागुन ३, २०७८

काठमाडौँ, ३ फागुन । लेखानीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्याकारका विराट प्रतिभा डा. तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ ।
बहुआयामिक र निर्भिक व्यक्तित्व डा शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषाका प्रखर विद्वान् थिए । उनको भौतिक शरीर हामीमाझ आजदेखि रहेन । अब उनका कृतित्व र व्यक्तित्व सम्पत्तिका रुपमा रहन पुगेका छन् । समालोचक एवं साहित्यिक अग्रजले डा शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनका कृतित्व र व्यक्तित्व बहुआयामिक भएकाले उनको योगदान अन्य कुनै स्रष्टासँगका योगदानभन्दा पृथक भएको बताएका छन् । वरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रितले डा शर्मालाई संक्षेपामा सम्झँदै भने, “उहाँ प्रखर मान्छे हुनुहुन्थ्यो । लागेको कुरा बोल्न र विश्लेषण गर्न सक्ने स्वभावका धुरन्धर विद्वान् हुनुहुन्थ्यो । प्रगतिशील साहित्यका क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ ।”
संस्कृतिविद् प्रश्रितले डा शर्मामा हरेक विषयमा अध्ययन गहिरो हुने भएकाले कुनै अभिव्यक्ति दिनुपर्दा लुकाएर र छिपाएर नभई खरोरुपमा  प्रस्तुत गर्ने स्वभाव पाइने स्मरण गरे । वरिष्ठ साहित्यकार एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले डा शर्मा आफ्नो समयका बाघ भएको र उनी एक प्रकारले नेपाली समालोचना र निबन्धको सन्दर्भमा परम्परा र प्रचलित मान्यताभन्जक मानिने टिप्पणी गरे । “नेपाली समालोचना विधालाई नयाँ मोड र आकार दिनेमध्येका उनी अगुवा थिए । केही आफ्नो अध्ययन र दृढ निजी विचारका कारण जति नै आलोचित भए पनि उहाँले  जतिबेला जे उचित ठाने, स्पष्ट बोले, स्पष्ट लेखे । यद्यपि उहाँले स्वयं आफ्नै मान्यता खण्डित गर्नु परेका उदाहरण पनि उल्लेख गर्ने गरिन्छ”, साहित्यकार श्यामलले भने, “शर्माले निजात्मक शैलीमा उत्कृष्ट निबन्ध दिए, यात्रा निबन्धलाई उहाँले उचाईमा पु¥याए । निर्भिकता उहाँको लेखनको सबैभन्दा महत्वपूर्ण गुण थियो । आकर्षक भाषा र विशिष्ट शैलीका कारण उहाँले हामीलाई आफनो विशिष्ट अभिव्यक्ति कौशल देखाएका छन् ।” 
मूल रुपमा उनलाई देवकोटा र शङ्कर लामिछानेको शैली र परम्पराबाट उठेर फरक निजात्मक नेपाली निबन्धको श्रीगणेश गर्ने श्रेय जान्छ भन्दै साहित्यकार श्यामलले अनुज पुस्ताका प्रेरक रहिआएका उनी प्रतिभाको पहिचान र कदर गर्न सक्ने दरो मुटु भएका समालोचक थिए । उनको निधनले नेपाली साहित्यको यस्ता निर्भिक तर विराट प्रतिभाको अस्त भएको अनुभव हुन्छ बताए । प्रतिभाविहीन लेखनदासलाई डा शर्माले कहिल्यै लेखक नमान्ने र ठीक बेठीकको निर्णय दिन नसक्ने समालोचकलाई शर्माले समालोचक नमानेको साहित्यकार श्यामलको बुझाइ छ ।
त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमले डा शर्मा साहित्यका सबै विधामा अब्बल रहेका मूल्याङ्कन गर्दै नियात्रादेखि भाषा अभियान मात्र नभएर कथा लेखनमा पनि उनको सशक्त र मौलिक पहिचानको प्रशंसा गरे । त्रिवि नेपाली विषय समितिका  सदस्य डा गौतमले भने, “मेरो जागीरे जीवनको सुरुआत डा शर्माको लेखनी रहेको कक्षा ८, ९ र १० को पाठ्यक्रममा समावेश ‘महेन्द्रमाला’ नेपाली विषय पढाएर भएको हो । त्यस प्रकारको विशिष्ठ र मर्मज्ञखालको पाठ्यपुस्तक त्यसपछि मैले कुनै पनि पाएको छैन । उहाँमा बालबालिकाले कस्तो रुचाउँछन् र उनीहरुलाई कसरी शिक्षा दिनुपर्छ भन्ने राम्रो ज्ञान थियो ।”
डा गौतमले आफू महासचिव रहेको मानव नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सल्लाहकार रहेका र भाषाप्रतिको डा शर्माले दर्शाएको असाध्यै गहिरो प्रेमको पनि स्मरण गरे । नेपाल प्रज्ञा प्रतिष्ठानले शर्माको निधनबाट भरपर्दा र उच्च बौद्धिक अभिभावक गुमाउनुपरेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा डा शर्माका कृतिहरु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, आत्मगौरव, स्वाभिमान, विश्व मानवताका सन्देशयुक्त भएको जनाएको छ ।
इलामको सूर्योदयन नगरपालिका–९, बरबोटमा विसं १९९१ असार ९ गते जन्मेका डा शर्माको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । झर्रोवादी आन्दोलनका अगुवा डा शर्मा मधुमेह र बिर्सने रोगबाट पीडित थिए । उनको कृति ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार तथा ‘सम र समका कृति’ले २०२९ सालमा साझा पुरस्कार पाएको थियो भने उनले २०२३ सालमा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाएका थिए ।

अस्ताए प्रख्यात लेखक तथा समालोचक शर्मा
ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको आज बिहान निधन भएको छ । उनको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य क्षेत्रमा उनले छाडेका अमूल्य कृतिहरुले भने उनलाई अमर राख्नेछन् । 
इलाममा जन्मेका उनको कर्मथलो भने काठमाडौँ थियो । आज काठमाडौँस्थित उनको आफ्नै निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखनमा रमाउने शर्मा अस्वस्थताका कारण पछिल्लो डेढ वर्षयता भने साहित्य लेखनमा सक्रिय थिएनन् । उनमा पछिल्लो समय बिर्सने समस्या देखिएको थियो ।  
प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं १९९१ असार ९ गते निर्जला एकादशीका दिन भएको थियो । पिता प्रजापति उपाध्याय र माता देवकीको जेठो छोराका रूपमा इलाम सूर्योदय नगरपालिका–९ बरबोटेमा जन्मनुभएका उहाँको पठनपाठन संस्कृत शिक्षाबाट सुरु भएको हो । 
अङ्ग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गरेका उनी मदन पुरस्कार, साझा पुरस्कार लगायतबाट सम्मानित भएका थिए । उनको कृति ‘बेलाइततिर बरालिँदा’ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो भने ‘सम र समका कृति’ ले २०२९ सालमा साझा पुरस्कार पाउन सफल भएको थियो । विसं २०२३ मा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाएका थिए । 
डा शर्माले निबन्धबाट लेखन यात्रा सुरु गरेका हुन् । उनले २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा निबन्ध छापेका थिए । उनले अध्ययनकै सिलसिलामा भारतको खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकाल्नु भएको थियो । ‘हिमध्वनि’ पत्रिकाको सम्पादकसमेत रहेर काम गरेका उनका प्रकाशितमध्येको अन्तिम कृति ‘चरी भरर’ निबन्ध सङ्ग्र्रह हो ।  
उनको थर भने भण्डारी हो । उनी भारत बसेकै बेला भण्डारी थर लेख्न छोडेर शर्मा लेख्न थालेका हुन् । तारानाथ शर्माले कविता पनि लेखेका छन् । उनका कविता भने थोरै मात्र छन् । बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहाललगायतसँग मिलेर झर्रोवादी अभियान थालेका थिए । 
सो अभियान अहिले नेपाली साहित्यका क्षेत्रमा चर्चित पनि छ । नौलो पाइलो नामक पत्रिका प्रकाशन सुरु गरेका शर्माले झर्रोवादबारे विभिन्न पत्रिकामा लेखसमेत लेखेका थिए ।  
उनको अभियानलाई नेपाली भाषा र साहित्य लेखन क्षेत्रका धेरैले साथ दिएका थिए । उनले एकताका शर्माको सट्टा सर्मा लेख्ने गर्थे । जुन झर्रोवादमा नै पर्ने उनको तर्क थियो । बनारसमा पढ्दा उनलाई आफ्नो थर ‘भण्डारी’ भारतीय जस्तो लागेर शर्मा लेख्न थालेको उनी बताउँथ्ये । थर फेरेर घर पुग्दा बुबाले गुनासो गरेका थियो । एउटा पुस्तकमा ‘इदं पुस्तकम् प्रजापति शर्मणः’ लेखेको पत्ता लगाएपछि त्यसैको तर्कका आधारमा बुबाको चित्त बुझाएको पनि उनी बताउथ्यें । 
तारानाथ विद्यार्थी छँदै विभिन्न पत्रिकामा लेख तथा समालोचना छाप्थे । उनको पहिलो पुस्तक ‘नमस्ते’ निबन्ध सङ्ग्रह हो । रत्नपुस्तक भण्डारले २०१८ सालमा छापेको सो पुस्तक चर्चित पनि छ । दोस्रो कृतिका रूपमा २०२१ सालमा ‘घोत्ल्याइहरु’ भन्ने समालोचना सङ्ग्रह निस्किएको थियो । उहाँको सम्पादनमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सङ्ग्रह, २०२० सालमा र गुरूप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्र्रह, २०२१ सालमा प्रकाशन भएको थियो ।  
भाषाशास्त्री बालकृष्ण पोखरेलले तारानाथको लेखलाई नियात्रा नामकरण गरिदिएका थिए । त्यसअघिसम्म नियात्रा शब्द प्रयोगमा थिएन भनिएको छ । बालकृष्णले रत्नश्रीमा २०२३ सालमा छापिएको तारानाथको ‘मेनाइ साँघुको मेला’ शीर्षक लेख पढेपछि ‘तिमीले नियात्रा लेखेछौ’ भनेका छन् । पछि, त्यही लेखसहितको ‘बेलाइततिर बरालिँदा’ निबन्ध सङ्ग्र्रहको भूमिकामा बालकृष्णले नियात्रा लेखिदिएको बताइएको छ ।
उनले भारत, चीन, जापान, बेलायत, अमेरिका, भूटान, पाकिस्तान, थाइल्यान्ड, लेबनान, टर्की, जर्मनी, इटाली लगायतका देशको भ्रमण गरेका थिए ।–रासस 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  २१:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार