श्रमिकमाथि शोषण गर्नेलाई कडा कारबाहीको चेतावनी

मंगलबार, माघ २५, २०७८

काठमाडौँ, २५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।     नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा आज मन्त्रालयले सरोकारवालासँग गरेको छलफलमा उनले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताए ।  आफूले श्रमिकको हितमा परिणाममुखी काम गर्दै आइरहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरुलाई सरकारले हदैसम्मको कारवाही गर्ने उनको भनाइ थियो । 
नेपाल र युएईबीच हुने संयुक्त कार्यसमिति बैठकमा नेपालले न्यूनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनःएकीकरण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन जस्ता विषयलाई प्राथमिकता दिने उनले बताए । 
मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमिकमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताए । उनले बैठकमा नेपालले सातवटै प्रदेशमा सञ्चालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्यूनतम पारिश्रमिक वृद्धिलगायत एजेण्डा नेपालले प्रस्तुत गर्ने बताए । 
कार्यक्रममा सहभागीले युएईमा रहेका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए । नेपाल र युएईबीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदैछ । 
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा त्यहाँको सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ जाँदैछ । सोही क्रममा नेपाल–युएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुनेछ ।

श्रमिक अस्पताल स्थापनाका लागि कार्यदल बन्नु सकारात्मक 
 नेपाल ट्रेड युनियन कांग्रेसले देशभरका श्रमिकलाई लक्षित गरी श्रमिक अस्पताल स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिनु सकारात्मक कदम भएको बताएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले आज एक विज्ञप्ति जारी गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई सुलभरूपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन श्रमिक अस्पताल स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गर्नु सकारात्मक कदम भएको बताएका छन् ।
“लामो समयदेखि नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक अस्पताल निर्माणका लागि अग्रसरता लिँदै आएको सन्दर्भमा हालै मन्त्रालयले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी श्रमिकहरुको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रतिनिधित्व हुने गरी कार्यदल निर्माण गर्नुले मुलुकभरिका लाखौँ श्रमिकहरु उत्साहित भएका छन्”, महासचिव कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले सेना, प्रहरी, निजामती कर्मचारीलगायत समग्र क्षेत्रको आआफ्नै अस्पताल सञ्चालन भइरहेको अवस्थामा अनौपचारिक, स्वरोजगार तथा कलकारखाना एवं उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि अस्पताल सञ्चालनका लागि कार्यदल गठन हुनु खुसीको कुरा भएको बताए । “पटकपटक कार्यदल बन्ने, जग्गाहरु खोज्ने तर काम अघि नबढ्ने गरेको विगतको परम्परालाई चिर्दै यस कार्यदलले यो पटक एउटा निष्कर्षमा पुग्ने गरी काम गर्नुपर्छ”, उनले भने । नेपाल ट्रेड युनियन कांग्रेसले उक्त मानवीय एवं रचनात्मक कार्यमा पूर्ण सहयोग गर्नेसमेत बताएको छ । युनियनले तोकिएको समय सीमाभित्र काम सम्पन्न हुने गरी द्रूतरूपले काम अघि बढाउनसमेत आग्रह गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार