सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २४ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले वर्षेभर निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उनले कानुन अनुरूप निर्णय गरी मङ्गलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिए । आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ । साथै निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जूमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्नेछ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने गरी आजै मिति घोषणा गरिसकेको छ । यद्यपि साँझसम्म आयोगमा औपचारिकरूपमा जानकारी भने पुगि नसकेका बताइएको छ । केही दिनअघि मितिका सन्दर्भमा परामर्श दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृह मन्त्रीलाई निर्देशन दिएको थियो ।
निर्वाचनका लागि आवश्यक सामग्री उपलब्ध गराउन पत्रचार आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको छ । निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनपर्ने व्यवस्था छ । आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था वा स्थानीय तहको जग्गा, भवन, परिवहनका साधन फर्निचर वा अन्य जुनसुकै भौतिक साधन पूर्वसूचना दिई आवश्यकताअनुसार प्राप्त गरी प्रयोग गर्न सक्नेछ । कुनै सार्वजनिक संस्था वा निकाय वा सामुदायिक वा निजी विद्यालय वा महाविद्यालयको जग्गा, भवन वा अन्य भौतिक साधन पूर्वसूचना दिई आवश्यकताअनुसार प्राप्त गरी प्रयोग गर्न सक्ने व्यवस्था गरेको आयोग प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाइ उक्त विवरण एकीकृत गरी माघ मसान्तभित्र अनिवार्य रुपमा आयोगमा उपलब्ध अनुरोध गरिएको छ । मुख्य निर्वाचन अधिकृतरनिर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक÷एक थान चालु अवस्थाको डेस्कटप कम्प्युटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुने गरी व्यवस्थापन गरिदिन पनि आयोगले सबै स्थानीय तहलाई पत्राचार गर्न मन्त्रालयलाई अनुरोध गरेको छ । जिल्ला सदरमुकाममा रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य सबै स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तह वा कुनै सार्वजनिक संस्था वा निकाय वा सामुदायिक विद्यालयको स्वामित्वमा रहेका कम्तीमा तीन वटा भवनको संक्षिप्त विवरण उपलब्ध गराउन पनि भनिएको छ । सार्वजनिक भवन उपलब्ध नभई भाडामा लिनुपर्ने भएमा सम्भावित निजी भवनको विवरण र भुक्तानी गर्नुपर्ने अनुमानित मासिक भाडा रकम पनि खोलेर पठाउन तथा स्थानीय तह निर्वाचन २०७४ मा आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरुको विवरण पनि उपलब्ध गराउन आयोगले भनेको छ ।
निर्वाचन घोषणाको झापाका राजनीतिक दलहरुद्वारा स्वागत
सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेकामा झापाका राजनीतिक दलहरुले स्वागतयोग्य भएको भन्दै निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न सघाउ पुर्याउने प्रतिबद्धता जनाएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने निर्णयको स्वागत गर्दै जिल्लाका राजनीतिक दलहरुले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन आफूहरुले सहयोग पुर्याउने जोड दिएका छन् । रासससँग कुराकानी गर्दै कांग्रेस झापाका सभापति देउमान थेवेले स्थानीय तहको निर्वाचनको मिति घोषणा स्वागतयोग्य भएको छ भन्दै अब त्यसका लागि दलहरुले निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने बताए । स्थानीय तहमा जनप्रतिनिधिविहीन हुन नदिन घोषित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गर्दै उनले निर्वाचनका लागि दलहरुले वातावरण निर्माण गर्न सघाउ पुर्याउनु पर्ने धारणा राखे । निर्वाचन निष्पक्ष बनाउन गठबन्धन सम्मिलित वर्तमान सरकारको दायित्व भएको र अब निर्वाचन कतै नहोला भन्ने शङ्का नरहेको उनको भनाइ थियो । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले सरकारले स्थानीय तहको निर्वाचन घोषणा स्वागतयोग्य भएकाले अब निर्वाचनमा जुट्नुपर्ने औँल्याए । एमालेले सरकारलाई निर्वाचनका लागि दबाब दिँदै आएको उल्लेख गर्दै उनले भने, “निर्वाचन भयरहित, निष्पक्ष बनाउन सरकारले समेत वातावरण निर्माण गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ ।” जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष दिपेनवाला राईले स्थानीय तहमा जनप्रतिनिधिविहीन हुन नदिन सरकारले निर्वाचनको मिति घोषणा गरेकाले अब निर्वाचन भई छाड्ने बताए । निर्वाचनको विकल्प नभएको चर्चा गर्दै उनले अब स्थानीय तहको निर्वाचन निष्पक्ष, धाँधलीरहित बनाउन सबैले सहयोग पुर्याउनु पर्ने बताए। नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष वेदराज रेग्मीले स्थानीय तहको निर्वाचन नहोला भन्ने शङ्का अब हटेको बताए । सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब त्यसका लागि दलहरुले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु पर्ने उनको भनाइ थियो ।–रासस