एक नं प्रदेशमा खोटाङका दुई मन्त्री 

सोमबार, माघ २४, २०७८

खोटाङ, २४ माघ । प्रदेश नं १ मा खोटाङका दुई नेता एकैसाथ मन्त्री बनेका छन् ।  नेकपा (माओवादी केन्द्र)बाट राकमुमार राई ‘पासाङ’ खानेपानी, सिँचाइ तथा जलस्रोतमन्त्री र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजन राई सामाजिक विकासमन्त्री बनेका छन् ।  खोटाङका दुवै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य प्रदेशको मन्त्री भएपछि जिल्लावासी हर्षित छन् । विसं २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा खोटाङ क्षेत्र नं १ (क) बाट राई र २ (ख) बाट पासाङ विजयी भएका थिए । 
दुवै प्रदेशसभा सदस्य मन्त्री भएपछि जिल्लाको समग्र विकासमा उनीहरुको महत्वपूर्ण भूमिका हुने अपेक्षा गरिएको छ । प्रदेशको महत्पूर्ण दुई मन्त्रालयको जिम्मेवारी खोटाङका दुई मन्त्रीले पाएपछि अहिले समाजिक सञ्जालमा बधाई दिने तथा कार्यकाल सफलताको शुभकामना दिनेक्रम जारी छ । 
मुख्यमन्त्री राजेन्द्र राईले आइतबार खोटाङका दुईसहित आठजना थप गरेर १४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री राईले पाँच सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका थिए । 
विसं २०२५ वैशाख १४ गते बुबा बर्मध्वज र आमा डिगमायाँ राईको कोखबाट साकेला गाउँपालिका–२ रतन्छामा जन्मेका मन्त्री पासाङ २०३९ सालदेखि विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । मन्त्री पासाङ तत्कालीन नेकपा ९माले०को विद्यार्थी सङ्गठनमा आबद्ध भएको समयमा २०४५ सालमा पञ्चायतविरुद्धको आन्दोलनमा २३ दिन प्रहरी हिरासत बसेका थिए । 
विसं २०४५ मा एसएलसी उत्तिर्ण गर्नुभएका मन्त्री पासाङ २०४६ सालमा बहुदल आएपछि २०५० देखि खम्बुवान राष्ट्रिय मोर्चामा आबद्ध भएका थिए । मानविकी शङ्कायमा आइएसम्म अध्ययन गरेका मन्त्री पासाङ २०५४ साल साउन ७ गतेदेखि भूमिगत भएका थिए । 
विसं २०५५ मा तत्कालीन नेकपा माओवादीसँग खम्बुवान राष्ट्रिय मोर्चाको कार्यगत एकता भएको थियो । खम्बुवान राष्ट्रिय मोर्चा माओवादीसँग एकता भएपछि असन्तुष्ट बनेका मन्त्री पासाङलगायतले किराँत जनवादी वर्कर्स पार्टी खोलेर राजनीतिक गतिविधि अगाडि बढाएको थिए । 
विसं २०५८ मा मन्त्री पासाङ वर्कर्सको केन्द्रीय सदस्य भएको समयमा २०५९ सालमा माओवादीसँग पार्टी एकता भएको थियो । मन्त्री पासाङले माओवादीसँग पार्टी एकता भएपछि खोटाङ जिल्ला इन्चार्ज, जनकपुर–सगरमाथा ब्यूरो सदस्य, मेची–कोशी ब्यूरो सदस्य, सङ्खुवासभा जिल्ला इन्चार्ज, सोलु सल्लेरी ब्रिगेडको कमिसारलगायतको भूमिका निर्वाह गरेका थिए । 
मन्त्री पासाङ माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि जिल्ला इन्चार्ज हुँदै २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । विसं २०६५ मा केन्द्रीय सदस्य भएका मन्त्री पासाङ खोटाङ र उदयपुरको जिल्ला इन्चार्ज हुँदै २०७१ सालमा पार्टीको पोलिटब्यूरो सदस्य भएका थिए । 
विसं २०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका मन्त्री पासाङ नेकपा ९एमाले०सँग पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय सदस्य तथा पार्टी विभाजनपछि अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला इन्चार्ज हुन् ।   
उता सामाजिक विकासमन्त्री राई २०४६ सालमा एसएलसी उत्तिर्ण गरेपछि सक्रिय राजनीतिमा आएका हुन्। विसं २०२८ कातिक २५ गते बुबा रामशङ्कर र आमा मनशोभा राईको कोखबाट जेठो सन्तानका रूपमा केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जन्मनुभएका मन्त्री राईले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । 
अनेरास्ववियु एकताको पाँचौमा आबद्ध मन्त्री राई २०४६ सालमा पिपुल्स क्याम्पसको प्रारम्भिक सदस्य थिए । तत्कालीन स्ववियु निर्वाचनमा उपसभापति भएका मन्त्री राई नेकपा (एमाले) निकट अनेरास्ववियुको जिल्ला, अञ्चल र केन्द्रीय सदस्य तथा विद्यार्थी विशेष जिल्ला समिति सदस्य, पार्टी जिल्ला सचिवालय सदस्य, जिल्ला सचिव, केन्द्रीय सदस्यसमेत भएका थिए । 
विसं २०७४ मा भएको निर्वाचनमा प्रदेशसभा सदस्य विजयी मन्त्री राई माओवादीसँग पार्टी एकतापछि केन्द्रीय सदस्य भएका थिए । एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य भएका मन्त्री राई गीतकारसमेत हुन् । 
अञ्जु पन्तको स्वरमा सजिएको मन्त्री राईको शब्दमा तयार पारिएको ‘जीन्दगी यो फूलैफूलको जीवन हुँदैन’ बोलको गीत निक्कै चर्चामा छ । शालीन अनि भद्र स्वभावका मन्त्री राईको दर्जनौँ गीत चर्मामा छन् ।–रासस
 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार