प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन

आइतबार, माघ २३, २०७८

नयाँदिल्ली, २३ माघ । प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको जनवरी महिनामा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले ‘देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको’ बताएका छन् । मोदीले मङ्गेशकरका ‘गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने’ बताउँदै उनले ‘दशकौँसम्म भारतीय चलचित्र जगत्लाई नजिकबाट नियालेकी’ बताएका छन् । आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा ३०,००० भन्दा बढी गीत गाएकी थिइन् । उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गर्‍यो ।
उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो । पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन्। दिनानाथ त्यस बेला थिएटर कलाकार थिए ।
पिताको मृत्यु पश्चात् उनको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ सर्‍यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थालिन् ।
परिवारलाई सहयोग गर्नका लागि उनले केही चलचित्रमा छोटो भूमिका निर्वाह गरिन तर उनले पछि त्यसमा आफ्नो मन नलागेको बताउने गरेकी थिइन् ।‘म सबैभन्दा खुसी गाउँदा हुन्थेँ’ अन्तर्वार्ताका क्रममा उनी भन्थिन् ।
सन् १९४९ मा महल चलचित्रको ‘आएगा आनेवाला’ बोलको गीतले उनलाई फड्को मार्ने अवसर दियो । हिन्दी चलचित्रमा यो नै उनको पहिलो गीत थियो ।
‘पहिलो हिन्दी गीते लगत्तै सबै नायिका उनको आवाज चाहन्थे। तर उनी सधैँ व्यस्त रहन्थिन र केही भाग्यमानी सङ्गीतकारहरूले मात्रै उनलाई गीत गाउन लगाउने अवसर प्राप्त गर्थे’ सङ्गीतकार मोहम्मद जहुर खय्याम स्मरण गर्छन् ।
त्यसपछिका दशकमा उनले भिन्न पुस्ताका प्रख्यात बलिउड अभिनेतृहरूका लागि हजारौँ गीतहरूमा आवाज दिइन् ।
सन् २००१ मा उनले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गरेकी थिइन् । सन् २००४ मा उनको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले बीबीसीमा लेखेका थिए कि ‘मैले उनको आवाजमा भगवानको आशीर्वाद देखेँ ।’
मङ्गेशकरले विवाह भने गरिनन् । उनकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुन् ।
मङ्गेशकरले नेपाली भाषामा पनि गीत गाएकी छन् ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार