होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट

शनिबार, कात्तिक ७, २०८३

होर्मुज । होर्मुज जलडमरूमध्यको दक्षिणतर्फ रहेको ‘अनधिकृत’ मार्गबाट अघि बढ्ने प्रयास गरिरहेका दुईवटा विशाल तेलवाहक जहाज शुक्रबार नौसैनिक बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएका छन् ।  रणनीतिक रूपमा महत्त्वपूर्ण उक्त जलमार्गमा एक दिनअघि पनि सुरक्षा घटना भएको खबर सार्वजनिक भएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)को नौसेनाका अनुसार, विस्फोटका कारण दुवै जहाजका इन्जिन कक्षमा आगलागी भएको र जहाजहरू रोकिएको नौसेनाले जनाएको छ ।  आईआरजीसीको आधिकारिक समाचार माध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको हो । आईआरजीसीको नौसेनाका अनुसार, ती दुई तेलवाहक जहाजमा कुल ४५ लाख ब्यारेलभन्दा बढी कच्चा तेल लोड गरिएको थियो। विस्फोटपछि दुवै जहाजका चालक दलका सदस्यहरूले जहाज छाडेका थिए । यसअघि शुक्रबार नै अर्धसरकारी समाचार संस्था तस्निमले आईआरजीसीको नौसेनानिकट एक स्रोतलाई उद्धृत गर्दै होर्मुज जलडमरूमध्यमा नियम उल्लङ्घन गर्ने जहाजहरूको आवागमन ‘पूर्ण रूपमा रोकिएको’ जनाएको थियो । इरानले त्यस्ता जहाजलाई सहयोग गर्ने नेभिगेसन प्रणालीहरू नष्ट गर्नुका साथै बिहीबार जलमार्गमा चारवटा ‘नियम उल्लङ्घन गर्ने’ तेलवाहक जहाजलाई निशाना बनाएको समाचारमा उल्लेख थियो । ‘जलडमरूमध्यमा तेल तस्करी पुनः सुरु भएमा नियम उल्लङ्घन गर्ने जहाजहरू र तिनलाई सहयोग गर्ने प्राविधिक प्रणालीविरुद्ध अझ कडा कारबाही गरिनेछ,’ ती अधिकारीले बताए । फेब्रुअरी २८ देखि इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो। इरानी भूभागमा इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेपछि इरानले ती दुई देशका वा तिनसँग सम्बन्धित जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न रोक लगाएको थियो । यसैबीच, उक्त जलमार्गमा तनाव थप बढिरहेका बेला बेलायतको समुद्री व्यापार सञ्चालन निकाय (यूकेएमटीओ) ले बिहीबार साँझ ओमानको लिमाह क्षेत्रबाट सात समुद्री माइल उत्तरपूर्वमा भएको घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ । यूकेएमटीओका अनुसार, होर्मुज जलडमरूमध्य हुँदै बाहिरिँदै गरेको एउटा तेलवाहक जहाजलाई अज्ञात वस्तुले प्रहार गरेको रिपोर्ट प्राप्त भएको थियो। उक्त घटनाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । -सीसीटीभी प्लस

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार